काठमाडौं । नेपाल र भारतबाहेक तेस्रो मुलुकबाट आएका मुस्लिम समुदायलाई फर्काउने शर्तमा सरकारले सप्तरीको बोदेबर्साइन नगरपालिकामा धार्मिक सभा सञ्चालन गर्न अनुमति दिएको छ ।
सभा यही फागुन ३ गते शनिबारदेखि सुरु हुँदैछ । धार्मिक सभा सञ्चालनको अनुमति पाएसँगै मुस्लिम समुदायले सभाको तयारी तीव्र पारेका छन् ।
गृह मन्त्रालयले नेपाल र भारतका धर्माम्बलीलाई मात्रै सहभागी गराउने भनिए पनि तेस्रो मुलुकहरुबाट पनि बोलाइएको भन्दै बिहीबार सभा सञ्चालनमा रोक लगाएको थियो । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा गृह मन्त्रालयले सभा सञ्चालनको अनुमति दिएको छ ।
सभामा नेपाल र भारतबाट मात्रै मुस्लिम धर्मका अगुवालाई बोलाउने भनिए पनि पाकिस्तान, दुबई, कतारलगायतका देशहरुबाट समेत बोलाइएपछि सुरक्षाको कारण देखाउँदै सभालाई रोक्न गृह मन्त्रालयले सर्कुलर गरेको थियो ।