काठमाडौं । नेपालमा कोरोनाले एक जनाको ज्यान लिएपछि उच्च सतर्कता अपनाउन थालिएको छ । कोरोना संक्रमणबाट ज्यान गुमाएकी सिन्धुपाल्चोककी युवतीको गाउँ सिल गर्दै सेना परिचालन गरिएको छ । ती महिलालाई उपचार गर्न लगिएको बाह्रबिसेको स्वास्थ्य चौकी पनि सिल गरिएको छ । लकडाउनमा कडाइ गर्न बाह्रबिसे नगरपालिकाका वडा नम्बर ८ र ९ तथा बलेफी गाउँपालिकाका ७ र ८ नम्बर वडामा सेना परिचालन गरिएको छ । बाह्रबिसे ती महिलाको घर हो भने बलेफी उनको माइती हो । बाह्रबिसे बजार पनि आइतबार बिहानबाट पूर्णरुपमा बन्द गरिएको छ । शनिबार बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । उनको मृत्युलगत्तै शनिबारदेखि नै जोखिमयुक्त गाउँ र बजार क्षेत्रमा कडाइ गरिएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको टोली पनि सिन्धुपाल्चोक गएर अनुसन्धान गर्दै छ । बाह्रबिसेकी ती महिला कोरोनाबाट ज्यान गुमाउने नेपालको पहिलो व्यक्ति हुन् । (फाइल तस्बिर)