काठमाण्डौ। मेगा बैंक नेपाल लिमिटेडका सेयरधनीहरुका लागि बोनस सेयरसहित १२.०७ प्रतिशत लाभांश वार्षिक साधारणसभाबाट पारित भएको छ । काठमाण्डौमा मंगलबार सम्पन्न मेगा बैंकको ११औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७÷७८ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य रकममध्येबाट हाल कायम चुक्तापुँजीको १२.०७ प्रतिशतले हुन आउने १ अर्ब ७६ करोड ८८ लाख ५४ हजार २७०.३८ रुपैयाँ लाभांश पारित गरेको हो। त्यसमध्ये चुक्तापुँजीको १० प्रतिशतले हुन आउने १ अर्ब ४६ करोड ५४ लाख ९६ हजार ४९५ रुपैयाँ ७६ पैसा बोनस सेयर र २.०७ प्रतिशतले हुन आउने रकम ३० करोड ३३ लाख ५७ हजार ७७४.६२ रुपैयाँ नगद लाभांश साधारणसभाले पारित गरेको छ।
सभाले बैंकमा वैदेशिक रणनीतिक साझेदार ल्याउन सञ्चालक समितिलाई अख्तियारी पनि दिएको छ। यसैगरी गाभ्ने अथवा गाभिने (मर्जर) र प्राप्ति गर्ने सम्बन्धमा आवश्यकता अनुसार मर्जर समिति गठन गर्न, समझदारी गर्न, मूल्यांकनकर्ता नियुक्त गर्न र सेयर आदानप्रदान अनुपात निर्धारणलगायतका कार्यका लागि साधारण सभाले सञ्चालक समितिलाई अख्तियारी दिएको छ। सभामा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले निक्षेप संकलन, व्यापार प्रवर्द्धन र लगानीकर्ताको जेथा वृद्धि र लाभांशको दृष्टिकोणले पहिलो पाँचौँ बैंकभित्र स्थापित गर्ने लक्ष्य लिइएको जानकारी दिए। ‘कोरोनाको कहरबाट संक्रमित र आतंकित जनशक्ति र थलिएका उद्योग–व्यवसाय तथा अर्थतन्त्रका बीचमा पनि समकक्षी बैंक–वित्तीय संस्थाहरुको तुलनामा दोहोरो अंकमा उचित लाभांश वितरण गर्ने अवस्थामा आइपुगेका छौँ’, उनले भने, ‘पञ्चवर्षीय योजनामा बैंकको लाभांशको दरलाई वृद्घि गर्दै लगिने र अर्थतन्त्रलगायत नियमनकारी निकायको नीति तथा निर्देशनहरुअनुकूल रहेमा लाभांश दरलाई २० प्रतिशत पुर्याउने लक्ष्य लिएका छौँ। अध्यक्ष शाहले वित्तीय बजारमा मेगा बैंक नेपाललाई एक प्रतिष्ठित, अब्बल तथा जनप्रिय बैंकका रुपमा स्थापित गर्ने लक्ष्य लिइएको छ।
शाखाको सञ्जाल विस्तार नभएका जिल्ला, नगरपालिका एवं पालिकामा शाखा खोल्ने नीति लिइने जानकारी गराउँदै अध्यक्ष शाहले उत्पादनमूलक तथा आयातलाई प्रतिस्थापन गर्दै निर्यात प्रवर्द्धन गर्ने रोजगारमूलक उद्योग व्यवसायमा लगानी केन्द्रित गर्ने गरी ठूला उद्योग तथा परियोजनाहरुमा लगानीकर्ता समूहको ‘लिड बैंक’का रुपमा मेगा बैंकलाई स्थापित गर्दै लगिने बताए। यसैगरी काठमाण्डौको विशालनगरमा आगामी तीन वर्षभित्र सुविधा सम्पन्न कर्पोरेट अफिस निर्माण गर्ने कार्यलाई तीव्रताका साथ अगाडि बढाइने उनले जानकारी दिए।
सभामा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बैंकको सञ्चालन सुव्यवस्थित किसिमले परिलक्षित बाटोमा आधार शिविरहरु खडा गर्दै गन्तव्यको उचाइतर्फ अग्रसर भएको बताइन्। ‘हामीले कोरोनाको कहरबाट थलिएको उद्योग–व्यवसाय र अर्थतन्त्रमा पनि सम्भावनाहरुको खोजी गर्दै व्यापार प्रवर्द्धनलाई त्यतातर्फ मोडेका छौँ। जसका कारण मेगा बैंकको वित्तिय परिसचूक सन्तोषजनक रहेको छ’, खुञ्जेलीले भनिन्।
चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिसम्म बैंकको कुल निक्षेप २ अर्ब ९९ करोड रुपैयाँले वृद्धि भई १ खर्ब ४८ अर्ब २८ करोड रुपैँया पुगेको छ। यसैगरी खुदकर्जा ८ अर्ब ५० करोड रुपैँयाले वृद्धि भई १ खर्ब ४४ अर्ब ५० करोड रुपैयाँ पुगेको छ। चालु आर्थिक पहिलो त्रैमासमा बैंकले ९१ करोड ४७ लाख रुपैँया खुद मुनाफा आर्जन गरेको छ।