free website hit counter

मौद्रिक नीतिसँगै शेयर बजारमा हरियाली

beemaadmin
२०८० श्रावण ७, आईतवार

काठमाण्डौ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएसँगै आज सेयर बजार भारी अंकले उकालो लागेको छ। मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सेयर धितो कर्जाको विद्यमान जोखिम भारमा पुनरावालोकन गर्नेलगायतका विषयका लचिलोपन देखाएसँगै बजारमा हरियाली छाएको हो। आज बैंकिङ सेक्टरमा चमक फर्किएको छ। आज बजार ६३.२४ प्रतिशतले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २२२७.१६ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १४.४१ अंकले बढेर ४२४.९३ को विन्दुमा उक्लिएको छ। कारोबार रकम सवा ४ अर्ब बढीको भएको छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। यो दिन बैंकिङ समूह सर्वाधिक ४.९८ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह ४.७८ प्रतिशतले बढ्दा वित्त समूहमा १.७१ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ३.०५ प्रतिशत, जलविद्युत समूहमा १.७० प्रतिशत, लगानी समूहमा ३.४६ प्रतिशत, जीवन बीमा समूहमा १.०३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.५५ प्रतिशत, लघुवित्त समूहमा १.२१ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.५५ प्रतिशत, निर्जीवन बीमा समूहमा १.३६ प्रतिशत, अन्य समूहमा १.४३ प्रतिशत र व्यापार समूहमा ४.१० प्रतिशतको बढोत्तरी भएको छ।
आज नेप्सेमा सूचीकृतमध्ये २६६ कम्पनीका १ करोड २० लाख २ हजार ३०८ कित्ता सेयर ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार २३३ रुपैयाँमा करोबार भएको छ। यो दिन शिवम सिमेन्टको सर्वाधिक १४ करोड ८१ लाख रुपैयाँबराबरको कारोबार भएको छ। ज्योति विकास बैंकको १३ करोड ७७ लाख रुपैयाँ बढीको कारोबार भएको आज ग्लोबल आइएमई बैंकको १२ करोड ३४ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ११ करोड १२ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ११ करोड ११ लाख रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सको १० करोड ५४ लाख रुपैयाँ, एभरेस्ट बैंकको ९ करोड ६९ लाख रुपैयाँ, नबिल बैंकको ९ करोड ४१ लाख रुपैयाँ, प्रभु बैंकको ९ करोड १० लाख रुपैयाँ र चन्द्रागिरी हिल्सको ८ करोड ९६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
आज ४ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। किसान लघुवित्त र चन्द्रागिरी हिल्सको सेयरभाउमा १० प्रतिशत तथा लिबर्टी इनर्जी र स्वरोजगार लघुवित्तको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ। यो दिन ग्लोबल आइएमई बैंक र कालिञ्चोक दर्शनको सेयरभाउ पनि ९ प्रतिशत बढी उकालो लागेको छ। आज बिपिडब्लु लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउमा ५ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।

सम्बन्धित समाचार