free website hit counter

यसरी कम गर्न सकिन्छ बीमाभित्रको अपराध

beemaadmin
२०७९ श्रावण १४, शनिबार

नाटकीय रुपमा रातारात बीमा गरिन्छ, बीमा रकम तिर्न सक्ने आधार के हो ? बीमा गर्ने व्यक्तिको पारिवारिक अवस्था कस्तो छ ? त्यो बीमा उसको आवश्यकताले गरिएको छ कि छैन ? इच्छाइएको भनिएको व्यक्तिसँगको नाता के कस्तो हो भन्ने समेत ख्याल नगरी व्यापार गर्ने नाममा बीमा गरिँदा बाँकेका सर्जन बीकको ज्यान गएको छ भने बीमा व्यवसायमाथि पनि ठूलै धक्का दिएको छ । यस घटनाबाट शिक्षा लिएर बीमा क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन नीति निर्माताहरुले ध्यान पु¥याउनै पर्छ । र, बीमा लेख खरिद बिक्री शैलीमा धेरै परिवर्तन ल्याउन जरुरी छ । यस मामलामा नियामक निकाय, बीमा अभिकर्ता संघ, बीमक संघलगायत सरोकारवाराहरु सबैको ध्यान जानु जरुरी छ ।
जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन गर्ने होडले गर्दा र अभिकर्ताहरुको इन्सेन्टिभ टार्गेटले गर्दा ठूलो रकमको बीमालेख बिक्री गरी व्यापार गरेको देखाउने होडबाजी नै चलेको छ । ठूलो बीमालेख बिक्री गर्दा बीमा शुल्क आर्जन बढी हुने, अभिकर्ताको टार्गेट पुग्ने हुँदा ठूलै बीमाङ्क रकमको बीमालेख बिक्री गर्न बीमकले प्रोत्साहन गर्छन् भने अभिकर्ता पनि त्यसैमा लागि पर्छन् । हाल आएर बीमा बजारमा देखिएका विकृति हेर्दा जीवन बीमामा ठूलो बीमालेख बिक्री गर्नु भनेको समस्या निम्त्याउनु जस्तै छ । एकातिर बीमाको दुरुपयोग हुँदैछ भने अर्कोतिर ठूलो बीमालेख नियमित हुन सकिरहेको छैन । जसले गर्दा बीमक, बीमित र अभिकर्तालाई बेफाइदा नै छ । बीमालेख जारी गर्दा केही व्यापार देखिए पनि अर्को वर्षबाट कुनै न कुनै समस्या आइरहेको हुन्छ ।

जीवन बीमालेखको बीमाङ्क रकमको निश्चित मापदण्ड निर्धारण गर्ने
अधिकांश बीमकहरुले जीवन बीमाको न्यूनतम बीमाङ्क रमक निर्धारण गरेका हुन्छन् भने अधिकतम बीमाङ्क रकम जति पनि आय श्रोतको आधारमा बीमा गर्न सकिने भनेर प्रचार गर्दछन् । तर त्यसलाई संशोधन गर्न जरुरी छ । जसरी घातक रोग र अन्य पुरक राइडरहरुको मापदण्ड निर्धारण गरिएको छ । निश्चित बीमाङ्क रकमको बीमा गर्ने र बाँकी रकमको बीमा केही समयपछि थप्दै लैजान सकिन्छ ।

बीमा लेखको जोखिम बहन
बीमालेख जारी हुनासाथ पूरा बीमाङ्क रकमको जोखिम बहन हुने बीमालेखहरुलाई निश्चित अवधिसम्म केही प्रतिशत बीमाङ्कको मात्र जोखिम बहन गरी बाँकी जोखिम १÷२ वर्षपछि बहन हुने गरी मिलाउनु पर्दछ ।

बीमा प्रस्ताव फाराम
निश्चित बीमाङ्क रकम भन्दा माथिको श्रीमतीको जीवन बीमा गर्दा श्रीमानको बीमा हुनु जरुरी भएजस्तै अब श्रीमानको जीवन बीमा गर्दा श्रीमतीको पनि समान बीमाङ्कको बीमा गरिनु पर्दछ । जसरी नाबालिक बालबालिकामा यो नियम लागू गरिएको छ ।

इच्छाइएको व्यक्ति
जीवन बीमामा इच्छाइएको व्यक्ति नजिकको हकदार हुनु पर्दछ तर त्यहाँ नाम उल्लेख गरिदिए पुग्दछ । तर अबदेखि नाता प्रमाणित हुने कागजात पनि पेश गर्ने व्यवस्था गरिनु पर्दछ । जबकि कतिपय घटनामा घटना घटेपछि नाता कायम भएको पाइन्छ ।

आम्दानीको स्रोत
बीमामा आयस्रोतको भूमिका प्रमुख हुन्छ । आयस्रोत प्रष्ट खुल्ने र आधिकारीक हुन जरुरी छ ।

जोखिमाङ्कन
बीमालेख जारी गर्नलाई अण्डरराइटिङको भूमिका प्रमुख हुन्छ । यस विभागमा दक्ष कर्मचारीले कुशल अण्डरराइटिङ गर्न जरुरी छ ।

अभिकर्ता र कर्मचारीको चेतना
बीमकले समय समयमा कर्मचारी, अभिकर्तालाई हरेक प्रकारको अनुशासन, नैतिकता, कर्तव्य, बीमासम्बन्धी चेतना र तालिम दिई बीमा सम्बन्धी पाठ्य सागम्रीहरु उपलब्ध गराउनु पर्दछ । यसले अण्डरराइटिङलाई ठूलो सहयोग पुग्दछ । बीमा अभिकर्ता प्रथम अण्डर राइटर पनि हुन् ।

दाबी भुक्तानी
जीवन बीमामा प्राय बीमालेख जारी भएपछि घटना घटेमा दाबी योग्य हुन्छन् र पूरा बीमाङ्क रकमको भुक्तानी नियमसंगत गरिन्छ । यसलाई केही परिमार्जन गर्नु जरुरी छ । बीमालेख परिपक्व हुनुभन्दा पहिल्यै परेको दाबी भुक्तानी इच्छाइएको व्यक्तिलाई मात्रै नभई परिवारका आमा–बाबु, छोरा–छोरी लगायतका आश्रितहरुलाई दामासाहीले भुक्तानी गर्ने व्यवस्था गर्नु पर्दछ । यसो हुँदा बीमालेख दुरुपयोग कम गर्न सहयोग पुग्दछ ।

सम्बन्धित समाचार