काठमाडौं । आगामी आर्थिक वर्षको बजेट तयारी तिव्र भइरहेको बेला बीमा समितिले बीमा क्षेत्रको पहूँचमा विस्तार हुने गरी बजेट विनियोजन गर्न सुझाव दिएको छ । बजेटको अन्तिम तयारी भइरहेको बेला समितिले बीमा क्षेत्रको पहूँचमा विस्तार हुने बजेट ल्याउन चार बुँदे सुझाव पेश गरेको हो। बीमा समितिका अध्यक्ष चिरन्जीवि चापाँगाईले आगामी आर्थिक वर्षको बजेट बीमा क्षेत्रको पहूँच विस्तारका लागि जोड दिएको बताएका छन्। नेपालमा बैदेशिक रोजगार म्यादी बीमा सहित २७ प्रतिशतमा बीमाको दायर विस्तार भएको र यो दायरालाई अझ विस्तार गर्न समितिले सरकारलाई चार बुँदे सुझाव पेश गरेको हो ।
समितिका अध्यक्ष चापाँगाईका अनुसार कृषि बीमाअन्तर्गत पाउँदै आईरहेको बीमाशुल्क अनुदानलाई निरन्तरता दिने र लघु बीमामा पनि कृषि बीमामा जस्तो अनुदानको व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ। सरकारले हाल कृषि बीमा अन्तर्गत कुल बीमाशुल्कको ७५ प्रतिशतसम्म अनुदान दिँदै आएको छ। सरकारले आगामी आर्थिक वर्षको लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पनि कृषि क्षेत्रलाई उच्च प्राथमिकता राख्दै कृषि तथा पशुपन्छी बीमाको दायरा बढाउने योजना अघि सारेको छ। यस्तै, समितिले जीवन बीमा गर्दा आयकरमा दिँदै आएको कर छुटको सीमा पनि बढाउनु पर्ने सुझाव दिएको छ। हाल २५ हजारसम्म पाउने गरेको त्यो सुविधा बढाएर ५० हजारसम्म पुर्याउनु पर्ने सुझाव दिइएको छ ।