free website hit counter

यी हुन् उपेन्द्रले सत्ता नछाड्ने कारण

beemaadmin
२०७६ मंसिर ६, शुक्रबार

काठमाडौं । पार्टीको बैठकमा सत्ता तत्काल सत्ता नछाड्ने निर्णय गरेर सरकारी भ्रमणको सिलसिलामा दिल्लीतिर उडेका उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव दिल्ली भ्रमणमै रहेका बेला मन्त्रालय हेरफेर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सल्लाह बिनै उनको मन्त्रालय हेरेफेर गरेकोभन्दै दिल्लीबाटै असन्तुष्टि जनाएका यादव आज साँझ काठमाडौं फर्किदैछन् । संविधान संशोधनलगायत दुइँ बुँदामा नेकपासँग सहमति गरेर सत्तामा छिरेका यादवले अहिलेसम्म ती दुई बुँदा कार्यान्वयनका लागि कुनै पहल गरेका छैनन् । दुई बुँदे सहमतिलाई सत्तामा उक्लिेन भ¥याङ मात्रै बनाएको उनकै पार्टीका नेताहरुले आरोप लगाउने गरेका छन् । प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठनमा संघीय समाजवादीबाट प्रतिनिधित्व गर्ने मन्त्री र राज्यमन्त्रीलाई हटाउने चर्चा व्यापक रुपमा चलेको थियो । त्यही सन्दर्भमा पार्टीको बैठक पनि बस्यो । बैठकमा सत्ता नछाड्ने निर्णय गराएका यादवलाई ओलीले मन्त्री पदबाट त बर्खास्त गरेनन् तर मन्त्रालय भने बिना जानकारी नै परिवर्तन गरिदिए ।

यो प्रकरणपछि धेरैले यादवले परिवर्तन भएको मन्त्रालयमा बहाली नगर्ने बरु सरकार नै छाड्ने अड्कलबाजी गरिरहेका छन् । उपेन्द्र स्वयंले भने यो पदलाई स्वीकार गर्छन् या गर्दैनन् निर्णय गर्न सकिरहेका छैनन् । दिल्लीबाट काठमाडौं फर्केपछि यस सन्दर्भमा निर्णय गर्ने प्रतिक्रिया दिएका यादवको जस्तै भनाई पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको पनि छ । उनी पनि पार्टीमा छलफल गरेरै यसबारे निर्णय गर्ने बताइरहेका छन् । मन्त्रालय परिवर्तनलाई अपमानको रुपमा हेरेको संघीय समाजवादीका लागि नेकपासँगको सहकार्य तोड्न सहज अवस्था छैन । विषम परिस्थिति र व्यापक आलोचनाका बीच नेकपासँग सत्ता साझेदार बन्न पुगेको संघीय समाजवादीलाई मन्त्रालय परिवर्तन गराएर भए पनि ओलीले स्थान दिएकै छन् । यस अर्थमा नेकपा तत्कालै संघीय समाजवादीसँगको सम्बन्ध टुटाउन चाहँदैन । आफ्नै पार्टीका मन्त्रीहरुलाई सुइको समेत नदिई छापामार शैलीमा बर्खासत गरेका ओलीले यदि संघीय समाजवादीसँग सहकार्य तोड्न चाहेकै थिए भने यावदलाई बर्खास्त गर्नु ठूलो कुरा थिएन । मन्त्रालय परिवर्तनलाई नै अपमानको रुपमा व्याख्या गर्ने वा सहकार्य तोड्न खोजेको अर्थका रुपमा अहिले नै बुझिहाल्न मिल्दैन । यादवलाई यसअघि पनि पटक पटक ओलीले सरकार छाड्न आग्रह गरेका सार्वजनिक समाचारहरु नआएका होइनन् । तर यादवले पद छाडेनन् ।

अहिले उनका लागि पद छाड्नु त्यति सहज अवस्था छैन । किनकि संघीय सरकारमा नेकपासँगको सहकार्य तोड्दा प्रदेश २ को सत्ता समिकरण पनि टुट्न सक्छ । अहिले राजपालाई साथमा लिएर प्रदेश २ मा सरकारको नेतृत्व संघीय समाजवादीले गरिरहेको छ । संघीय सरकार छाड्ने बित्तिकै प्रदेश २ को सत्ता समिकरण बदलिने अड्कल बाजी पनि उत्तिकै गरिएको छ । उपेन्द्रले केन्द्रमा साथ छाड्ने बित्तिकै प्रदेश २ मा नेकपा र राजपाबीच नयाँ समिकरण बन्न सक्छ । यस कारणले पनि उपेन्द्रका लागि अहिले नेकपासँगको सत्ता समीकरण जारी राख्नुपर्ने बाध्यात्मक अवस्था छ । अर्कोतर्फ मधेश अनुकुलको संविधान संशोधन गर्नकै लागि भनेर सत्तामा सहभागी भएको संघीय समाजवादी फोरम संविधान संशोधनको कुनै प्रक्रिया अघि नबढ्दै सत्ता छाड्दा सत्तामा जानुको औचित्य पुष्टि हुन सक्दैन । त्यसैगरी सत्ता छाड्न नसक्नुको अर्को ठूलो चुनौती भनेको गौर हत्याकाण्ड पनि हो । पछिल्लो समयमा काँग्रेसका सांसद मोहम्मद आफताब आलाम १२ वर्षअघिको घटनामा जेलमा परेका छन् । यो घटनापछि गौर हत्याकाण्डलाई यादवसँग जोडेर उचालिएका कारण पनि यादवलाई सत्ता छाडेर प्रतिपक्षमा जान सहज छैन ।

सम्बन्धित समाचार