काठमाडौं । लकडाउन खुकुलो भएपछि र विदेशबाट नेपालीहरुको उद्दार शुरु गरेपछि राजधानी काठमाडौंमा पनि कोरोना संक्रमित थपिने क्रम बढेको छ । मंगलबार काठमाडौं उपत्यकामा १६ जना कोरोना संक्रमित थपिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। १६ मध्ये ४ जना काठमाडौंको रहेको महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए। उनका अनुसार बाँकी १२ जना संक्रमितहरु विदेशबाट आएर होल्डिङ सेन्टरमा रहेकाहरु हुन्। जसमध्ये दुबई, कुवेत, भारत र कतारबाट आएका व्यक्तिहरु छन्। काठमाडौंमा भेटिएका चार जना संक्रमित टोखा, गोकर्णेश्वर, शंखमूल र धापासीका रहेको पाण्डेले बताए। उनीहरुको विवरण लिने काम भइरहेको महाशाखाले जनाएको छ। मंगलबार दिउँसो नियमित ब्रिफिङका क्रममा भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा १४ जना संक्रमित भेटिएको जानकारी प्रस्तुत गरेको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका २ र भक्तपुरका १, पाटन अस्पतालमा काठमाडौं र ललितपुरका १–१ र त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ९ जनामा संक्रमण पुष्टि भएको हो। बाहिरबाट आउने व्यक्तिका कारण काठमाडौंमा जोखिम बढ्दै गएको डा पाण्डेले बताए। सरकारले होल्डिङ सेन्टरलाई पनि व्यवस्थित गर्न आवश्यक रहेको उनको भनाई छ।