काठमाडौं । पूर्व मन्त्री एवं राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य संघीय सांसद अनिलकुमार झाका पिता प्रदेश सभाका सांसद एवं निवर्तमान राज्यमन्त्री डा. डिम्पल झाका ससुरा प्रेमनारायण झाको ९१ वर्षको उमेरमा सोमबार बिहान निधन भएको छ । पूर्वमन्त्री झासँगै काठमाडौंमा बस्दै आएका प्रेमनारायण दुई दिनअघि मात्रै छोरासँगै जनकपुर फर्किएका थिए । सामान्य अवस्थामा रहेका प्रेमनारायणको सोमबार बिहान जनकपुरमा निधन भएको हो । अन्तिम संस्कारका लागि उनको पार्थिव शरीरलाई सोमबार नै गृहजिल्ला रौतहटको मत्सरी लगिएको थियो । अन्तिम संस्कारका लागि पार्टीका स्थानीय नेता, प्रदेश सभासद तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । प्रदेश २ सरकारका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनाल, राज्यमन्त्री द्वय सुरेश मण्डल, अभिसाम शर्मा लगायतको उपस्थिति रहेको अन्तिम संस्कार कार्यक्रममा पर्सा जिल्लाबाट पार्टीका नेता शिव पटेल समेतको उपस्थिति थियो । स्वर्गीय झाका ३ छोरा, यज्ञनन्द, अनिल र नविन र ६ छोरी रहेका छन् । स्व. झाको मत्सरी निवासमै काज क्रियाका कर्म गरिने बताइएको छ ।