काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गुटका बलिया खम्बा ईश्वर पोखरेललाई रक्षाबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थन्क्याएपछि पोखरेलको स्थानमा पूर्व माओवादी खेमाका तर अहिले प्रधानमन्त्री केपी ओलीका पक्षमा देखिएका टोपबहादुर रायमाझीलाई उपप्रधान एवम् रक्षामन्त्री बनाउने तयारी भइरहेको छ ।
पार्टी भित्र आफूलाई संकट पर्दा साथ दिएका नेताहरुलाई ओलीले छानी छानी अवसर दिएका छन् । अब रक्षा मन्त्रालयको नेतृत्वमा प्रधानमन्त्री ओलीले पूर्व माओवादी खेमाका नेता टोपबहादुर रायमाझीलाई ल्याउने तयारी गरेका छन् । यसको लागि ओलीले आफूनिकट नेताहरुसँग परामर्श पनि गरिसकेका छन् ।
उक्त छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको समेत सहभागिता थियो । प्रधानमन्त्रीले रक्षाको जिम्मेवारी सम्हाल्न नहुनेमा पार्टी अध्यक्ष देखि वरिष्ठ नेताहरु एक भएका बेला प्रधानमन्त्री ओलीले प्रचण्ड खेमाका नेतालाई टिपेर आफ्नो बनाउन खोजेका हुन् । उनले एकता महाधिवेशनसम्म ओलीलाई नै निरन्तरता दिनेबारे आफ्नो सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
रायमाझीले पूर्व माओवादी केन्द्रका नेताहरु प्रभु साह, हरिबोल गजुरेल, लेखराज भट्ट र मणि थापालगायतका नेताहरुलाई पनि ओलीकै पक्षमा उभ्याएका थिए । ओलीले रायमाझीको त्यही गुण तिर्नको लागि पनि यसपटक उपप्रधानसहित रक्षा मन्त्रालयको नेतृत्व दिने तयारी गरेका छन् । रायमाझी यसअघि नै उपप्रधानमन्त्री भैसकेको व्यक्ति भएकोले यसपटक पनि उपप्रधानमन्त्री नै दिएर रायमाझीको प्रोटोकल म्यानेज गर्ने बालुवाटारको योजना छ ।