काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत सीईओ पदका लागि पाँच जनाको नाम सर्ट लिस्ट गरिएको छ । बैंकको सीईओ छनोट तथा सिफारिस समितिले ५ जनाको नाम सर्ट लिष्ट गरेको हो । यसरी सर्टलिष्टमा पर्नेहरुमा कृष्णबहादुर अधिकारी, देवेन्द्र रमण खनाल, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी रहेका छन्। बैंकको सीईओ पदका लागि २० जनाले आवेदन दिएका थिए । जसमध्ये सीईओ छनोट तथा सिफारिस समितिले शैक्षिक योग्यता तथा कार्य अनुभव र पेस भएको व्यावसायिक कार्ययोजनाको मूल्याङ्कनको आधारमा ५ जनालाई सर्ट लिष्ट गरी अन्तर्वार्ताका लागि बोलाएको हो । छनोटमा परेका ५ जना उम्मेदरवारलाई आगामी जेठ ९ गते प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि बोलाएको छ । पाँच जनाले दिने प्रस्तुति तथा अन्तर्वार्ताको आधारमा उच्चतम अंक प्राप्त गर्ने ३ जनालाई सीईओका लागि सिफारिस गरिनेछ । र, तीनै जनामध्ये एक जना सीईओ बन्नेछन् । बैंकको सीईओ बन्नका लागि नेपाल बैंकका पूर्वसीईओसमेत रहेका कृष्णबहादुर अधिकारी अब्बल दावेदारका रुपमा उभिएका छन् । सीईओ छनोट समितिले अधिकारीलाई ५ जनाको सर्ट लिष्टिङ्गमा पहिलो नम्बरमा राखेको छ । उनीसँग बैंकिङ्ग क्षेत्रमा २ दशक बढी काम गरेको अनुभव छ । खुला प्रतिस्पर्धाबाट नेपाल बैंकको सीईओमा नियुक्त भएका उनी गत असोजमा ४ वर्षे कार्यकाल पूरा गरी बाहिरिएका थिए । नेपाल बैंककै प्रडक्ट रहेका अधिकारी नेपाल बैंकबाटै सीईओ बन्ने पहिलो ब्यक्ति हुन् । विभिन्न जिम्मेवारीमा रही काम गरेका अधिकारीले एमबिए र ईएमबिएसम्मको अध्ययन पुरा गरेका छन् । उनले आफ्नो कार्यकालमा बैंकलाई अब्बल बनाएका थिए । यस्तै, देवेन्द्ररमण खनाल राष्ट्रिय वाणिज्य बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृत ९कामु सीईओ०को जिम्मेवारी सम्हालिरहेका छन् । । वि।सं २०६४ भदौमा बैंकमा आवद्ध भएका खनाल चार्टर्ड एकाउन्टेन्ट हुन् । उनले एमबीए पनि गरेका छन् । बैंकको शाखा कार्यालय, प्रादेशिक कार्यालय, कर्जा विभाग लगायत विभिन्न विभागको जिम्मेजारी सम्हालेका खनालसँग डेढ दशक बढीको बैंकिङ अनुभव छ । पूर्व सीईओ किरण कुमार श्रेष्ठले अवकाश पाएपछि नायब प्रमुख कार्यकारी अधिकृत खनालले कामु जिम्मेवारी पाएका हुन् ।
सीईओको दौडमा रहेका प्रकाशचन्द्र अधिकारी एक महिना अघिसम्म एनआईसी एशिया बैंकमा कार्यरत थिए । तत्कालीन कमर्ज एण्ड ट्रस्ट बैंक नेपाल र नेपाल बैंकमा काम गरिसकेका अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । सीईओ छनोटको ५ जनाको सूचीमा परेका विष्णुदेव यादव नेपाल एसबिआई बैंकका चिफ रिस्क एण्ड कम्प्लायन्स अफिसर हुन् । यादव नेपाल एसबिआई बैंकमा २७ वर्षदेखि काम गर्दै आएका छन् । उनले सोही बैंकबाट नै आफ्नो बैंकिङ्ग करियर सुरु गरेका हुन् । बैंकिङ्ग क्षेत्रमा २६ वर्षको अनुभव हासिल गरेका उनीसँग कर्पोरेट बैंकिङ्ग, ट्रेड फाइनान्स र रिकभरीमा राम्रो अनुभव छ । पछिल्लो साढे ३ वर्ष उनले रिष्क र कम्प्लायन्सको जिम्मेवारी वहन गर्दै आएका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबिए र एमएस्सी गरेका छन् । उनको स्थायी घर महोत्तरी गौसाला नगरपालिका ११ मा हो भने हाल ललितपुरको भैँसेपाटीमा बस्दै आएका छन् ।