काठमाडौं । रिलायन्स लाइफ सञ्चालक समितिको निर्णय बमोजिम राकेश पोखरेललाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिको प्रस्ताव नियामक निकाय बीमा समितिले स्वीकृत गरेको छ । बीमा समितिबाट स्वीकृति पाएसँगै अव चार वर्ष पोखरेल सीइको रुपमा रहने छन् । पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका पोखरेलले सन् २००९ मा भारतीय बोर्डबाट चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल गरेका थिए । प्राइम लाइफमा इन्टर्नल अडिटरको रुपमा प्रवेश गरेका पोखरेलले सूर्या लाइफमा सहायक महाप्रवन्धक पद सम्हालेका थिए । सूर्या लाइफपछि आइएमई लाइफको महाप्रवन्धक पदमा पुगेका थिए । प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली पहिलो कार्यकाल सकाएर पुस १२ गते बाहिरिएसँगै कम्पनी सीइओ बिहीन भएको थियो । सो समयका लागि नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको थियो ।