free website hit counter

लगातार चौथो दिन पनि नेप्सेमा गिरावट

beemaadmin
२०८१ बैशाख ४, मंगलवार

काठमाडौँ । नेप्से परिसूचकमा लगातार चौथो दिन गिरावट आएको छ । आज पनि १४.८१ अङ्कले घटेसँगै परिसूचक १९९१.७१ बिन्दुमा आइपुगेको छ । यो नेप्से परिसूचकमा आज आएको ०.७३ प्रतिशतको गिरावट हो । यसअघि चैत महिनाको २८ गते नेप्से परिसूचक १०.३० अङ्कले घटेको थियो । त्यसअघि चैत २७ र चैत २५ गते मात्रै नेप्से परिसूचक बढेको थियो । नयाँ वर्ष २०८१ साल सुरु भएपछि कारोबार भएका सबै दिनमा पनि परिसूचक लगातार घटेको छ । चैत २८ गते १० अङ्कले घटेको नेप्से परिसूचक आइतबार २ अङ्क र सोमबार १६ अङ्कले घटेको थियो । आज १४ अङ्कले घटेको दिन ४२ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै २०० कम्पनीको सेयर मूल्य घट्दा २ कम्पनीको मूल्य भने स्थिर कायम छ । यस क्रममा आज २ अर्ब १० करोड रुपैयाँ बराबरको ५४ लाख ७१ हजार कित्ता सेयर किनबेच भएको छ । यस क्रममा दुई कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । एसबीएल डिबेञ्चर २०८९ र गुर्खास फाइनान्सको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो । यता रुरु जलविद्युत परियोजनाको सेयर मूल्य भने १० प्रतिशतले घटेको छ । परिसूचक घट्दा कारोबारमा आएका सबै समूहमा गिरावट आएको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको सूचक ७८ अङ्कले घट्दा जीवन बीमा समूहको सूचक ५५ अङ्कले घटेको छ । यस्तै, उत्पादनमूलक समूहको सूचक ३८ अङ्कले घट्दा व्यापार समूहको सूचक २३ अङ्कले घटेको छ । यी बाहेक अरु सबै समूहमा समेत गिरावट आएको छ । सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको दिन गुर्खास फाइनान्सको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । आज यो कम्पनीको १७ करोड ५९ लाख रुपैयाँको सेयर किनबेच भएको हो । यसपछि सूर्यज्योति जीवन बीमा कम्पनीको ७ करोड ४३ लाख रुपैयाँको किनबेच भएको छ ।

सम्बन्धित समाचार