free website hit counter

लघुबीमा कम्पनी छिटै सञ्चालनमा आउने

beemaadmin
२०७९ मंसिर २७, मंगलवार

काठमाडौं । भर्खरै लाइसेन्स पाएका लघुबीमा कम्पनीहरुले केहि महिना भित्रै सञ्चालनमा आउने दाबी नियामक निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले गरेका छन् । मधेश प्रदेशको बीगञ्जमा प्राधिकरणको प्रदेश कार्यालयको उद्घाटन गर्दै उनले उक्त जानकारी गराएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरणका अध्यक्ष सिलवालले प्राधिकरणले न्यून आय भएका बर्ग र पिछडिएका क्षेत्रलाई लक्षित गरी लघुबीमा व्यवसाय गर्न अनुमति दिएका लघुबीमा कम्पनीहरूले केही महिनाभित्रै काम शुरू गर्ने बताएका हुन् । प्राधिकरणले लघुबीमा व्यवसाय सञ्चालकको लागि ७ कम्पनीहरुलाई अनुमति प्रदान गरिसकेको छ। यस्तै अध्यक्ष सिलवालले पालिकाहरूले बजेट तर्जुमा गर्दा नै बीमाको प्रवद्र्धन एवम् पहुँच विस्तारका लागि व्यवस्था गर्नु उपयुक्त हुने बताउँदै पालिकाका कामहरूसँग आवद्ध गरेर अनिवार्यरूपमा घर तथा सम्पत्तिको बीमा गर्ने व्यवस्था गर्न आग्रह गरे । उनले ग्रामीण क्षेत्रका मात्र नभई शहरी क्षेत्रका न्यून आय भएका बर्गलाई समेत बीमाको दायरामा ल्याउन पालिकाहरूले विशेष व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए ।
प्राधिकरणका प्रदेश कार्यालयहरूबाट नै बीमाका अधिकांस सेवाहरु सेवाग्राहीले प्राप्त गर्नसक्ने समेत उनले जानकारी गराए । यसअघि, सुदूरपश्चिम प्रदेशको धनगढी र कर्णाली प्रदेशको सुर्खेतमा स्थापना गरिएका प्राधिकरणका प्रदेश कार्यालयहरू संञ्चालनमा आइसकेका छन् । प्राधिकरणको प्रदेश कार्यालयबाट बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका लागि जनचेतनामूलक कार्यक्रम संचालनका साथै बीमा दाबी भुक्तानी तथा गुनासो व्यवस्थापन, बीमकको अनुगमन, निरीक्षण तथा सुपरीवेक्षण, बीमाको दायरा विस्तारका लागि प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय लगायतका कार्य सम्पादन हुने प्राधिकरणले जनाएको छ ।

सम्बन्धित समाचार