काठमाण्डौ । कात्तिक महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन्। आज अधिकांश वाणिज्य बैंकले कात्तिक महिनामा लागू हुने निक्षेप र कर्जाको ब्याजदर प्रकाशित गरेका छन्। जसमा अधिकांश बैंकले मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् भने थोरैले मात्रै बढाएका छन्। केहीले ब्याजदर स्थिर राखेका छन्। हामीले प्राप्त प्रारम्भिक तथ्यांकअनुसार ९ वटा वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन्। ब्याजदर घटाउनेमा हिमालय, नेपाल एसबीआई, प्राइम, नेपाल इन्भेस्टमेन्ट मेगा, ग्लोबल आइएमई, कृषि विकास बैंक, एभरेस्ट, नेपाल बैंक र प्रभु बैंक छन्। यस्तै ब्याजदर बढाउनेमा एनएमबि, नबिल र स्ट्यान्डर्ड चार्टर्ड छन्। लक्ष्मी सनराइज, माछापुच्छ्रे र राष्ट्रिय वाणिज्यले भने असोजकै ब्याजदरलाई निरन्तरता दिएका छन्। कात्तिकमा वाणिज्य बैंकहरुमध्ये केहीले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ११.००३ प्रतिशत र संस्थागतमा ९.००३ प्रतिशत ब्याज उपलब्ध गराउने भएका छन्। केही वाणिज्य बैंकहरुले भने व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ९.२२ प्रतिशत र संस्थागतमा ७।२२ प्रतिशत ब्याज उपलब्ध गराउनेछन्। कात्तिक महिनाका लागि अधिकांश विकास बैंकहरुले भने मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। उनीहरुले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा १०.२५ प्रतिशत र संस्थागतमा ८.२५ प्रतिशत ब्याजदर कायम गरेका छन्। असोजमा विकास बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ११ प्रतिशत र संस्थागतमा ९ प्रतिशत ब्याज दिँदै आएका छन्।