free website hit counter

विजयबहादुर शाहले सम्हाल्दैछन् हिमालयन जनरल इन्स्योरेन्स

beemaadmin
२०७८ माघ १७, सोमबार

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील बज्राचार्य समय अगावै बाहिरिने भएसँगै उक्त पद विजयबहादुर शाहले सम्हाल्ने भएका छन् । बीमा क्षेत्रका ज्ञाता कुशल व्यवस्थापक रहेका शाहको बीमा क्षेत्रमा लामो अनुभव छ । उनले नेतृत्व सम्हालेका कम्पनीले व्यवसायिक सफलता हासिल गरेका छन । नेपाल इन्स्योरेन्सभन्दा अघि शाह एनएलजी इन्स्योरेन्सको सीईओ थिए । उनले दुई कार्यकाल सफलतापूर्वक बिताएका थिए । त्यसभन्दा अघि नेशनल इन्भेष्टमेन्ट एण्ड क्यापिटल मार्केटमा पनि सीईओ पद सम्हालेका शाह नेपाल बीमक संघको पूर्वअध्यक्ष समेत रहिसकेका छन् । वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट शाहले गोर्खा ब्रुअरी, सूर्य टोवाको, राष्ट्रिय प्रकृति संरक्षणकोष लगायतका कार्यालयमा काम गरिसकेका छन् । उनी विकासशील देशहरुका बीमा कम्पनी र नियमनकारी निकायको साझा संस्था एआईआरडीसीको अध्यक्ष समेत छन् ।
सीईओ बज्राचार्य फागुन महिनादेखि हिमालयन जनरल इन्स्योरेन्सबाट बाहिरिन लागेका हुन् । २०७६ साउन १ गते ४ वर्षको लागि नियुक्त भएका बज्राचार्य डेढ वर्ष अघि नै बाहिरन लागेका हुन् । माघ ६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले आपसी सहमतिमा करार संशोधन गरी उनको कार्यकाल २०७८ माघ मसान्तसम्मको लागि मात्रै कायम गर्ने निर्णय गरेको थियो ।
नेपाल इन्स्योरेन्सको सीईओबाट कार्यकाल पूरा गरी शाह साउन ९ गते नेपाल बाहिरिएका थिए। उक्त कम्पनीबाट बिदा भएको ६ महिना अर्थात कुलिङ पिरियड सकिएसँगै शाह हिमालयन जनरल इन्स्योरेन्समा आवद्ध हुन लागेको बताइएको छ ।

सम्बन्धित समाचार