काठमाडौं । प्रदेश नं. ३ को प्रदेश सभाको बैठक आज अपरान्ह ३ः०० बजे बस्दैछ । नेकपाको सचिवालय बैठकले प्रदेश नं. ३ को राजधानी हेटौंडा र नाम बागमती राख्न पार्टी संसदीय दललाई उर्दी जारी गरेको विषयलाई लिएर प्रदेश नं. ३ का नेकपाका सांसदहरुबीच मत बाझिएको छ । उक्त निर्देशनलाई कुनै पनि हालतमा मान्न नहुने, यसले सार्वभौम संसदको गरिमालाई भत्काउने काम गर्ने लगायतका कुराले गर्दा प्रदेशको नामाकरण र नाम प्रदेशसभा आफैंले स्वविवेकीय अधिकार प्रयोग गरी निर्णय गर्न पाउनुपर्ने पक्षमा एकथरि नेकपा सांसद छन् ।
मुख्यमन्त्री डोरमणि पौडेल पक्षधर सांसदहरु भने पार्टीले दिएको निर्देशन हुबहु मानेर कार्यान्वयन गर्नुपर्ने पक्षमा छन् । पार्टीको निर्णय अनुमोदन गर्नका लागि आइतबार बसेको नेकपा प्रदेश संसदीय दलको बैठकले कुनै निर्णय लिन सकेन । बैठकमा दुई पक्षबीच मत बाझिएपछि निर्णय हुन सकेको छैन । बैठक आज संसद बैठक शुरु हुनुअघि बस्ने बताइएको छ । सत्तारुढ दल नेकपाभित्रै द्वन्द्व बढिरहँदा नेपाली काँग्रेस संसदीय दलले पनि अहिलेसम्म निर्णय लिन सकेको छैन । नेकपाको निर्णय हेरेर पार्टी संसदीय दलले निर्णय लिने पर्खाइमा रहेको काँग्रेसले सोमबार ११ बजेपछि प्रदेश संसदीय दलको बैठक राखेको छ ।
आजको संसदको बैठकमा सरकारले प्रदेशको राजधानी र नामाकरणका विषयलाई लिएर मुख्य एजेन्डा बनाउने तयारी गरेको छ । संसदको बैठकको तयारीका सम्बन्धमा संसदको कार्यव्यवस्था समितिको बैठक पनि आजै राखिएको छ । आज कार्यव्यवस्था समितिको बैठकको मुख्य एजेन्डा प्रदेशको स्थायी मुकाम र नामाकरण नै हुने र मुख्यमन्त्रीलगायत नेकपाका अधिकांश सांसद हेटौंडाकै पक्षमा रहेका कारण पार्टीले दिएको निर्देशन अनुसारनै संसदको बैठकको कार्यसूचि राख्ने तयारी भएका कारण आजै संसदको बैठकबाट प्रदेशको नामकरण र मुकाम तोक्ने प्रयास सरकारको रहेको छ । आजै एजेन्डा पेश गरी आजै निर्णय लिने तयारीमा सरकार रहेपछि जसरी भए पनि उक्त निर्णय कार्यान्वयन हुन नदिनका लागि भइरहेका प्रयास असफल हुनसक्ने जानकारहरु बताउँछन् ।