free website hit counter

व्यापारी मन्त्रीको कर्मचारीसँगै गुनासै गुनासो

beemaadmin
२०७६ मंसिर १२, बिहीबार

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले मन्त्रालयमा पदबहाली गरेसँगै मन्त्रालयका कर्मचारीहरुसँग गुनासै गुनासोको पोको फुकाउन थालेका कारण कर्मचारी दिक्क छन् । निजी व्यापारीक घरानाबाट टिपिएका राज्यमन्त्री दुगडलाई सहसचिव नवराज ढकाल बस्ने कोठा रातारात खाली गरेर पदबहाली गराइएको थियो । पद बहाली गरेकै दिन श्रीमतीलाई समेत लिएर कार्यकक्षमा छिरेका राज्यमन्त्री दुगडले आफ्नो कार्यकक्ष कस्तो लाग्यो भनेर श्रीमतीसँग सोधेका थिए ।

श्रीमतीले तत्कालै ठिक छ भन्ने जवाफ फर्काएकी थिइन् । त्यसको भोलिपल्ट देखिनै राज्यमन्त्री दुगडले आफ्नो उद्योगको कार्यकक्षसँग मन्त्रालयको कार्यकक्ष तुलना गरिरहेका छन् । सफाचट, एसी रुममा बस्ने गरेका व्यापारी दुगड भूकम्पले जर्जर बनेको मन्त्रालयको भवन टालटुल पारेर रङले चिरिच्याट्ट पार्दा पनि उनको चित्त बुझेको छैन ।

उनी दिनैपिच्छे कर्मचारीहरुलाई कार्यकक्ष सानो हुनुको साथै आफू बस्न योग्य नभएको भनेर गुनासो मात्रै गर्दैनन् बारम्बार आफ्नो उद्योगको कार्यकक्षको प्रसंसा गरिरहन्छन् । कर्मचारीलाई बोलाएर गुनासो गर्नु त ठिकै हो, विभागीय मन्त्री उपस्थित रहेको महाशाखाहरुको बजेट तथा कार्यक्रमको ब्रिफिङमा समेत उनको गुनासो जारी नै रह्यो ।

मंगलबार मन्त्रालयमा आयोजित ब्रिफिङमा दुगडले कार्यकक्ष सानो भएको गुनासोमा अर्को गुनासो पनि थपे, मन्त्रालय परिसर फोहोर भयो । आफू ऊर्जा मन्त्री वर्षमान पुनको कार्यकक्षमा जाँदा फर्किन मन नलागेको मात्रै बताएनन् त्यस्तो कार्यकक्ष हाम्रा लागि बनाउन सकिँदैन भनेर कर्मचारीतिर प्रश्न तेस्र्याए । उनले आफू कहाँ ठूला ठूला मान्छे भेट्न आउने हुँदा कार्यकक्ष असुहाउँदो भएको गुनासो गर्न अझै छाडेका छैनन् ।

मन्त्रालयका बाणिज्य सचिव बैकुण्ठ अर्यालको कार्यकक्ष उनले ताकिरहेको श्रोतको दाबी छ । गुनासै गुनासोको पोको फुकाइरहेका राज्यमन्त्री दुगड भने आजै गृहजिल्ला बिराटनगरमा स्वागतार्थ गएका छन् ।

सम्बन्धित समाचार