free website hit counter

शितलनिवासको भोजमा क–कसको ज्यूनार ?

beemaadmin
२०७७ असार १०, बुधबार

आज साँझ राष्ट्रपति भवन शीतल निवासमा हुने रात्रिभोजको निम्ति उपराष्ट्रपति,प्रधानमन्त्री,प्रधानन्यायाधीश,सभामुख,रास्टृय सभा अध्यक्ष, पूर्व प्रधानमन्त्रीहरु प्रचण्ड, झलनाथ खनाल, खिलराज रेग्मी, लोकेन्द्रबहादुर चन्द, शेरबहादुर देउवा, बाबुराम भट्टराईसहित सयभन्दा बढीलाई निम्तो पुगेको छ । कोरोना संक्रमणका कारण सरकारी उर्दी नै छ, विवाहभोजमा १५ भन्दा बढी मानिस भेला हुन नपाइने । साँझ ५ बजेदेखि ८ बजेसम्मको रात्रिभोजको लागि सत्तारुढ नेकपाको स्थायी कमिटीका सबै,स्थायी कमिटीमा नरहेका,तर नेतृत्वको निर्णायक भूमिका हुने नेता र मन्त्रीलाई पनि निम्तो गरिएको छ ।

दलीय भेलाको छनक नहोस् भन्नका लागि रामचन्द्र पौडेल,मीनेन्द्र रिजाल,ज्ञानेन्द्र कार्कीसहित अन्य दलका केही नेतालाई पनि बोलाइएको स्रोतले जनाएको छ । साँझको कार्यक्रमका लागि भाटभटेनीस्थित आम्रपाली क्याटरिङलाई सयभन्दा बढी निम्तालुका निम्ति सफ्ट ड्रिंक,सामान्य स्न्याक्स, मांसहारी तथा सादा खाना र खानापछि मिठाई, गाजरको हलुवालगायतका डेजर्टको अर्डर भएको छ । गत वर्ष पनि नेकपाको स्थायी कमिटी बैठक शुरु भएकै दिन शीतल निवासमा यस्तो भोजको आयोजना गरिएको थियो । पार्टी बैठकमा उत्पन्न विवाद प्रधानमन्त्रीको पक्षमा अनुकूल बनाउन गत वर्ष रात्रिभोजको आयोजना गरिएको थियो ।

‘राष्ट्रपतिले भोज दिन पाउने,नयाँ आर्थिक बर्ष शुरु हुनुअघि हामीले किन नपाउने भनेर बुर्कुसी खेल्नेहरुलाई अब झेल्न गाह्रो हुन्छ’, जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक अधिकृतले भने, ‘राष्ट्रपतिले भोज गर्न हामीलाई सोध्नुपर्दैन भन्ने कुरा सर्वसाधारणले बुझ्दैनन्,त्यसैले उनीहरु कराउन आउनेचाहिँ हामीसँगै हो ।’ स्मरणीय छ,असार महिनाभरि विवाह,ब्रतबन्धको अत्यधिक लगन छ । पार्टी प्यालेसहरुले वर्षका दुई मुख्य सिजनबाट गर्ने आम्दानीले वर्षैभरि आफ्नो व्यवसाय धान्नुपर्छ । त्यसमध्ये वैशाखदेखि असारसम्मका भोज तथा मंसिरदेखि माघका भोज हुन् । पहिलो सिजन उनीहरुका लागि शून्य आम्दानीमा बित्ने भएको छ । सरकारले विवाह, ब्रतबन्ध तथा पूण्यकार्यमा बढीमा १५ जना भन्दा मानिस भेला हुन नपाइने, यदि भेला भएमा आयोजक वा व्यवस्थापक ९पार्टी प्यालेस० लाई जरिवाना गराउनेदेखि हिरासतमा राख्नेसम्मका प्रावधान तय गरेको छ ।

मदन जयन्तीको तयारी

आजको रात्रिभोजको ठीक ४ दिनपछि शीतल निवासमा फेरि अर्को जमघट हुँदैछ,मदन जयन्तीको अवसरमा । एमालेका तत्कालिन महासचिव तथा ‘जनताको बहुदलीय जनवाद’ का प्रतिपादक मदनकुमार भण्डारी अहिलेकी राष्ट्रपति विद्यादेवी भण्डारीका पति हुनुहुन्छ ।असार १४ गते मदनको ६९ औँ जन्मजयन्तीका अवसरमा शीतल निवासमा अयोजना हुने एक कार्यक्रमका बीच एउटा डकुमेन्ट्री प्रदर्शन गरिने भएको छ । मदन फाउण्डेशन आयोजक रहेको उक्त कार्यक्रमकी प्रमुख अतिथि राष्ट्रपति हुनुहुने छ भने विशेष अतिथिमा प्रधानमन्त्री रहनुहुने छ । कार्यक्रममा पूर्वराष्ट्रपति डा।रामवरण यादवसहितलाई विशिष्ट अतिथिका रुपमा निम्तो गरिएको छ । त्यसदिन प्रदर्शन हुने डकुमेन्ट्री निर्माणमा नेपाल टेलिभिजनका प्रमुख क्यामेरापर्सन बसन्त रुपाखेतीहरुको टीम सक्रिय छ । यो कामको खर्च फाउण्डेशनले व्यहोर्ने हो । विहान पार्टीका नेताहरुले सामुहिक रुपमा हेरेपछि यो डकुमेण्ट्री १४ गते साँझ नै नेपाल टेलिभिजनबाट प्रशारण गरिने छ ।

मदनकै नाममा

जननेता मदन भण्डारीको ६९ औं जन्मजयन्तीमा यसपालि फरक फरक कार्यक्रम देखिने छ । पहिला बागमति प्रदेशसभाका सांसद तथा प्रमुख सचेतक दीपक निरौलाहरुले मदन भण्डारी फाउण्डेशन,काठमाडौं जिल्ला कमिटीका नाममा राष्ट्रपतिलाई नै प्रमुख अतिथि बनाएर शीतल निवासमा कार्यक्रम गर्ने भनिएको थियो । तर, त्यहाँ त्यही दिन, त्यही नाममा अर्को कार्यक्रम तय भएपछि जिल्लाको कार्यक्रम अन्यत्र आयोजना गरिने भएको हो । ‘हामीलाई पहिला कोरोनाका कारणले शीतल निवासमा कार्यक्रम गर्न नपाइने भनियो’, फाउण्डेशनका एक जिल्ला पदाधिकारीले भने, ‘तर, त्यही दिन,त्यहीँभित्र हाम्रोभन्दा भव्य कार्यक्रम हुन लागेको रहेछ ।’ जिल्ला कमिटीले दुई महिनादेखि मदनका नाममा डकुमेण्ट्री र स्मारिका प्रकाशनको तयारी थालेको थियो । अन्तिममा आएर केन्द्रले अर्कै तयारी गरेपछि जिल्लालाई कहाँ, कसरी कार्यक्रम गर्ने भन्ने अन्यौलता भएको छ ।

जनआस्था डट कमबाट

सम्बन्धित समाचार