काठमाण्डौ । लहलहैको भरमा लगानीमा हौसिएका नयाँ लगानीकर्ताले भरथेग गरेको शेयर बजारमा पहिरो जानेक्रम बढेको छ । कारोबार खुलेको २ घन्टामा सेयर बजार झन्डै ८० अंकले ओरालो लागेको छ। अहिलेसम्म बजार ७९.४९ अंकले ओरालो लागेको छ। नेप्से परिसूचक २८०९.५५ को विन्दुमा झरेको छ। अधिकांश वाणिज्य बैंक तथा विकास बैंकले मुद्दति निक्षेपको ब्याजदर बढाएका छन्। जसको प्रत्यक्ष प्रभाव सेयर बजारमा परेको हो।
राम्रा र बलिया कम्पनीको सूचक पनि १३.५९ अंकले घटेर ५२४.९३ विन्दुमा ओर्लेको छ। कारोबार साढे ४ अर्ब रुपैयाँ बढीको भएको छ। अहिलेसम्म नेप्से उपसमूहमा रहेका सबै १३ वटै समूहमा रातो पोतिएको छ। वित्त समूह सर्वाधिक ५.०५ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह ४.६३ प्रतिशतले घट्दा बैंकिङ समूहमा २.२७ प्रतिशत, विकास बैंक समूहमा ४.२१ प्रतिशत, जीवन बीमा समूह २.८३ प्रतिशत र लघुवित्त समूहमा ३ प्रतिशतको गिरावट आइसकेको छ। अन्य सबै समूहमा पनि भारी गिरावट आएको छ। अहिलेसम्म दुईवटाबाहेक सबै कम्पनीको सेयर भाउ घटेको छ। मनकामना स्मार्ट लघुवित्त र युनिलिभरको सेयरभाउमात्र लागेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक र हिमालयन पावर पाटर्नरको सेयरभाउ सर्वाधिक ८ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।