free website hit counter

संक्रमण जटिल बन्दै, धमाधम जान थाल्यो मानिसको ज्यान

beemaadmin
२०७७ भाद्र ५, शुक्रबार

काठमाडौं । नेपालीको रोग प्रतिरोधी क्षमता बढी छ त्यसैले कोरोनाले केही गर्न सक्दैन भनेर आम नागरिक मात्रै होइन सरकार समेत ढुक्क भएर बस्दा पछिल्ला दिनमा कोरोनाले उग्ररुप धारण गर्दै मानिसको ज्यान धमाधम लिन थालेको छ । समुदाय स्तरमा कोरोना फैलिएपछि पछिल्लो एक हप्ता मान्छेको मृत्युदर निकै बढ्न थालेको छ । देशको आधा जसो भाग लकडाउन गरेर सजगता अपनाइए पनि पछिल्ला दिनमा मानिसको ज्यान धमाधम जान थालेको हो ।

पाटन अस्पतालमा २ जनाको ज्यान गयो
ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । दोलखा निवासी ३० वर्षीया महिला र सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र ललितपुरले जनाएको छ ।
दोलखाकी महिलाको यही भदौ २ गतेदेखि र सर्लाहीका पुरुषको गत साउन ३१ गतेदेखि पाटन अस्पतालमा उपचार हुँदै आएको थियो ।

घरमै बसिरहेका संक्रमितको मृत्यु
अस्पतालमा बेडको अभावमा विराटनगरमा होम आइसोलेसनमा बसेका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि होमआइसोलेसनमा बसेका विराटनगर महानगरपालिका–६ सरोचियाका का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । कामत थरका मृतक पुरुषमा कोरोनाको लक्षण देखिएपछि १ भदौमा स्वाब संकलन गरेर जाँच गर्दा ३ भदौमा पोजेटिभ रिपोर्ट आएको थियो ।

कोरोना अस्पतालमा गयो पुरुषको ज्यान
बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । प्यूठानको स्वर्गद्वारी नगरपालिका–७ सोत्रेका ६४ वर्षीय मानबहादुर गौतमको शुक्रबार बिहान मृत्यु भएको हो ।भदौ १ गते अस्पतालमा भर्ना भएका उनको भेन्टिलेटरको सहायतामा उपचार भइरहेकोमा शुक्रबार बिहान साढे ६ बजेतिर मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा। सुदर्शन थापाले पुष्टि गरे । भारतबाट रोजगारी गरेर फर्किएका गौतम नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका थिए ।

नारायणी अस्पतालमा बिते एक पुरुष
कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका रौतहटका एक जना पुरूषको उपचारको क्रममा वीरगञ्जमा मृत्यु भएको छ । रौतहटको ईशनाथ नगरपालिका–९ डुमरिया बस्ने ५५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । वीरगञ्जको नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालका डाक्टर निरज सिंहले जानकारी दिए । ज्वरो, खोकी, पखाला र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई शिवदर्शन सेन्ट्रल अस्पताल रौतहटमा उपचार गरिएको थियो ।

उपचारमा जाने तयारी गर्दागर्दै महिलाको मृत्यु
चार दिनदेखि उच्च ज्वरो आएपछि उपचार गर्न धरान जाने तयारी गर्दागर्दै सप्तरीकी एक महिलाको मृत्यु भएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ निवासी ३२ वर्षीया महिलाको सोही नगरपालिकाको वडा नम्बर ९ स्थित सानीआमाको घरमा मृत्यु भएको हो । बिहीबार राति अत्यधिक ज्वरो आएपछि उनको मृत्यु भएको नगरपालिकाका स्वास्थ्य संयोजक उमेश साहले बताए । साहका अनुसार ३५ वर्षीया ती महिलालाई पछिल्लो चार दिनदेखि ज्वरो आइरहेको थियो । उनले औषधि किनेर खाइरहेकी थिइन् । फाइल तस्बीर

सम्बन्धित समाचार