free website hit counter

सभापति देऊवाका चुनौतीहरू

beemaadmin
२०७८ पुष ३, शनिबार

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेर बहादुर देउवा ज्यूलाई वधाई र सफल कार्यकालको शुभकामना। यस पटकको कार्यकालमा देऊवाको अगाडि केही निश्चित चुनौतीहरू तेर्सिएका छन् जसले उनलाई यो पद निल्नु न ओकेल्नु बनाउने निश्चित छ। हुन त सक्षम ब्यक्तित्वका लागि यो पद चुनौती र अवसर दुवै हो तर यिनको विगतको स्वभाव हेर्दा अगाडि देखा परेका समस्या संग जुध्नुको सट्टा तर्केर हिड्ने बानीले यसो भन्नु परेको हो।

यिनको पहिलो चुनौती भनेको यिनको टीममा समय सापेक्ष युवाहरूको प्रवेश हो। नेपाली कांग्रेसमा विद्यमान कमी कमजोरी हटाएर पार्टीलाई देश र जनताको पक्षमा लैजान खोज्ने र पार्टीलाई सिद्धान्तमा चलाऊन खोज्ने धनराज, गगन र विश्व प्रकाशको प्रवेश संगै उनी झस्किएका हुन सक्छन्।पार्टीमा देऊवाले च्यापेकाहरूको हार हुदै जानु र उनले मिल्काएकाहरूको पार्टीमा प्रवेश संगै देऊवाको सातो गएको हुन सक्छ जुन देऊवाको लागि हाऊगुजी हुन सक्छ। त्यसै गरी पार्टीमा प्रवेश गरेको नयां रक्तसन्चारको सन्देश के हुन सक्छ भने देऊवाको भावी कार्यशैली पार्टी र सरकार वीच समन्वयात्मक हुन सकेन भने वर्तमान गठबन्धन धरापमा पर्न सक्छ।

पार्टीका कतिपय कुराहरू सरकारका गठवन्धनका पात्रलाई अरूची हुन सक्छ। यस्तो स्थितिमा एम सी सी को रूपमा आएको अमेरिकी अनुदान सहयोग र चीन सरकारको ऋणमा आएको बी आर आईले सरकारको समीकरण फेर्न सक्ने ल्याकत राख्न सक्छन्।यो परिस्थितिमा अर्ली ईलेक्सनको अवस्था आऊन सक्छ जुन चुनावको पूर्व तयारी नपुगेको अवस्था र यी परियोजना उपर जन मानसमा देखिएको जवर्जस्त प्रतिकृयाले चुनावमा अपेक्षित नतिजा नआउन सक्छ र देउवा उपर पार्टीबाटै दवाव पर्न सक्छ। देशमा लोकतन्त्रको आगमन संगै देशको शासन सत्तामा भूमिका खेलेका राजनीतिक दलको भूमिका अपेक्षाकृत सन्तोषप्रद रहेन। यही कमजोरीलाई माध्यम बनाएर हाल सडकमा असन्तुष्ठीका स्वरहरू चर्किदै गएका छन् र यसले क्रमश: राजनीतिक आकार पनि लिन खोज्दै छ।

यस परिस्थिमा यी आवाजलाई समेत कुनै न कुनै रूपमा सम्बोधन गर्न देऊबा सक्षम हुन जरूरी छ। देऊवाजीको बानी विगतमा जे जस्तो थियो त्यो बानी र ब्यबहारमा यो महाधिवेशनकै कारणले मात्र परिवर्तन हुने कुरा भएन र पार्टीका अन्य पदाधिकारीहरूले देऊवाजीले जे जे गर्दै हिड्छन त्यसको समर्थन गरिरहने कुरा पनि भएन। यस्तो अबस्थामा पदाधिकारीहरू र शीर्ष ब्यक्तित्व बीच द्वन्दको अवस्था नआउला भन्न सकिन्न। विगतको जस्तो भाग बण्डामा असहमत पक्ष चुप लागेर बस्न सक्दैन जस्तो लाग्छ। त्यसैले देऊबाजीको लागि यस्तो अबस्था कठीन र चुनौतिपूर्ण हुन जान्छ।

अहिले विश्व राजनीति शीत युद्ध तर्फ केन्द्रित हुदै गएको छ। छिमेकी देशहरू संग मात्र हैन पश्चिमा शक्तिहरू संग पनि समन्वय हुन सकेन भने नेपालमा बाह्य हस्तक्षेप बढ्ने सम्भावना उत्तिकै छ। फेरि नेपालको भौगोलिक अबस्थिति नै बिश्वको ध्यान तान्ने प्रदेशमा परेको हुदा यसको सन्तुलनमा सरकार प्रमुखको नाताले ध्यान दिनु पर्ने कुरामा यथार्थता छ तर देऊवाले यस तर्फ आफ्नो क्षमता देखाउन सकेनन् भने यो उनको लागि झन् महंगो पर्न सक्छ। यसरी पार्टी आधुनिक र नतिजामुखी हुन खोजीरहेको र अझै भनौ विश्व भित्र भित्रै गुम्सिई रहेको बेला यो पद कतै देऊवाजीको लागि भालुको कम्पड नबनोस् यी देखा परेका हांकहरू समाधान गर्न देऊवालाई सफलता मिलोस् भन्ने कामना छ।

सम्बन्धित समाचार