काठमाडौं । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको एक महिना लामो रस्साकस्सी र संसदलाई बन्धक बनाउँदै तय गरिएको सभामुख पदका उम्मेदवारका विषयलाई लिएर पछिल्लो समय कानुनी उपचारदेखि सडक संघर्षसम्म शुरु गरिएको छ । दुई अध्यक्षबीच भएको सहमतिअनुसार सचिवालय बैठकले अग्नि सापकोटाको नाम सभामुखका लागि छनोट गरेको थियो । सोही निर्णय बमोजिम सापकोटाको उम्मेदवारी संसदमा दर्ता भइसकेको छ । नेपाली काँग्रेसले पनि सभामुख पद तटस्थ पद भएका कारण आफ्नो तर्फबाट उम्मेदवारी नदिएर सापकोटाकै पक्षमा समर्थन जनाइसकेको छ ।
यो आधारमा हेर्दा सापकोटालाई सभामुख बन्न संसदीय अनुमोदनबाहेक कुनै अवरोध छैन । आइतबार बस्ने संसदको बैठकले सापकोटाको एकल उम्मेदवारीलाई अनुमोदन गर्ने कार्यक्रम रहेको छ । औपचारिक रुपमा सापकोटालाई सभामुख पदका लागि घोषणा गर्न मात्रै बाँकी रहेको अवस्थामा संसद बाहिर भने अनेक खिचडी पाक्न थालेको छ । सापकोटालाई रोक्नका लागि द्वन्द्वकालीन मुद्दाको गलपासो झुण्याउन खोजिएको छ । यसैलाई आधार मानेर सर्वोच्च अदालतमा अधिवक्ता दिनेश त्रिपाठीले मुद्दा दायर गरिसकेका छन् ।
उनले सर्वोच्चसामु दिएको रिटमा सापकोटालाई सभामुखमा निर्वाचित नगर्न र सपथग्रहण नगराउन संसद, राष्ट्रपति कार्यालयलगायतलाई विपक्षी बनाइएको छ । शुक्रबार दर्त भएको उक्त निवेदनका बारेमा आवश्यक निर्णय लिनका लागि अदालतले सभामुखका उम्मेदवार सापकोटालाई अदालतमा आइतबार हाजिर हुन आदेश दिइसकेको छ । आइतबार नै संसदले सभामुख चयन गर्ने कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा अदालतले सोही दिन सापकोटालाई हाजिर हुन बोलाएपछि संसदसामु नैतिक संकट खडा भएको छ । अदालतमा मुद्दा विचाराधिन भएको अवस्थामा संसदले उनलाई निर्वाचित गर्ने प्रस्ताव अदालतको निर्णय अगावै गर्न नपाउने भएका कारण आइतबारको संसदको बैठक सम्भवत सूचना टाँस गरेर स्थगित हुनसक्ने वा अदालतको आदेशपछि मात्रै अबेर बस्न सक्ने अवस्था सिर्जना भएको छ ।
यस सन्दर्भमा आइतबार बिहान दलहरुको कार्यसम्पादनको बैठक बसेर ठोस निर्णय लिने अनुमान गरिएको छ । एकातिर अदालतबाट सापकोटाको यात्रा रोक्ने प्रपञ्च गरिएको छ भने भने अर्कोतर्फ राष्ट्रपति विद्यादेवी भण्डारीका विज्ञ सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिएपछि अनेकथरि आशंका उत्पन्न भएका छन् । सापकोटा विरुद्ध अदालतमा मुद्दा दर्ता भएकै दिन प्याकुरेलको राजीनामा आउनु संयोग मात्र होइन । यसभित्र अनेक षड्यन्त्र रचिएको बजारिया चर्चाहरु चल्न थालिसकेका छन् । यथार्थ के हो ? प्याकुरेले एक दुई दिनभित्रै राजीनामा दिनुको कारण स्पष्ट पार्ने बताउनुले पनि शंकाको बादल मडारिएको अनुमान गर्न सकिन्छ ।
प्याकुरेलको राजीनामा प्रकरणले दुई पार्टीबीचको एकता भावनात्मक रुपमा अझै हुन नसकेको संकेत पनि मिलेको छ । यी पृष्ठभूमि जारी रहँदा सडकमा पनि सापकोटा विरुद्ध आन्दोलन उचालिएको छ । माइतीघर मण्डलादेखि लिएर केही चोकमा सापकोटाविरुद्ध आन्दोलन उचाल्ने शक्तिहरु बढ्दै जाँदा सापकोटाको उम्मेदवारी निश्कर्षमा सहजै पुग्न सक्ने कुरामा आशंका उत्पन्न भएको छ । सभामुख नबन्दै थालिएका यी प्रपञ्चहरु साँच्चै ठहरिए भने सभामुखमा उनको यात्रा सहज छैन । जबकि उनलाई उम्मेदवार बनाउनुभन्दा पूर्व नै पूर्व एमालेहरुको असहमति रहेको थियो । तर नेकपा अध्यक्ष प्रचण्डको जोडबलका कारण सभामुखको उम्मेदवार बनाइएका सापकोटोको पक्षमा पूर्व माओवादी खेमाको पनि पूर्ण समर्थन देखिएको छैन ।