काठमाडौँ । राजधानी काठमाडौंलाई पनि कोरोनाले गाँज्दै लगेको छ । सबैतिरबाट राजधानी छिरेका मानिसहरुका कारण राजधानी असुरक्षित भएको हो ।
पछिल्लो दिनमा राजधानीका सुरक्षाकर्मीमा कोरोना देखिने क्रम बढेको छ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवास बालुवाटारमा कार्यरत एक कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
ती कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै सभामुखसहित ३० भन्दा बढीको स्वाब संकलन भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
सभामुख सापकोटाको अगुवा गाडी चालक प्रहरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हाे । प्रहरी हेडक्वार्टरमा ठूलो संख्यामा सुरक्षाकर्मीमा संक्रमण देखिएपछि उनको पनि परीक्षण गरिएको थियो । उनी प्रहरी हेडक्वार्टरमा बस्थे र, ६ गतेसम्म सभामुखको अगुवा गाडी चलाएका थिए ।