काठमाडौं । नेपाली कांग्रेसले पछिल्ला राजनीतिक घटनाक्रम र पार्टीका आन्तरिक विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको छ।
भोलि दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको एक पदाधिकारीले जानकारी दिए।
बैठकमा सरकारका पछिल्ला निर्णय तथा गतिविधिबारे छलफल हुने ती पदाधिकारीले बताए। उनका अनुसार सरकारका एकपछि अर्को निर्णय र कदम विवादमा परिरहेको भन्दै पार्टीले यस विषयमा आफ्नो धारणा बनाउने तयारी गरेको छ।
‘सरकारका एकपछि अर्को निर्णय र कदम विवादित भइरहेका छन्। त्यसबारेमा छलफल गर्नका लागि पदाधिकारीहरूको बैठक बस्न लागिएको हो। बैठकपछि सरकारलाई यी विषयमा ध्यानाकर्षण गराउँछौँ,’ ती पदाधिकारीले भने।
बैठकमा पार्टीका आन्तरिक विषयले पनि स्थान पाउनेछ। नेताहरूको कार्यविभाजन, स्थानीय तहको निर्वाचनको तयारीलगायत विषयमा छलफल हुने ती पदाधिकारीले जानकारी दिए।
सरकारका पछिल्ला गतिविधिबारे पार्टीको धारणा तय गर्नुका साथै संगठनात्मक र चुनावी तयारीका विषयमा पनि बैठक केन्द्रित हुने बताइएको छ।