free website hit counter

सरुवा बढुवा ठप्प, लोकसेवाको तयारी गर्न बिदै बस्नुपर्ने

beemaadmin
२०७६ मंसिर १२, बिहीबार

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबारदेखि लागू हुने गरी सरुवा, बढुवा, पदस्थापना लगायत समायोजनको काम तत्कालका लागि स्थगित भएको जनाएको छ । उक्त मन्त्रालय सम्हाल्न नयाँ मन्त्रीका रुपमा हृदयेश त्रिपाठी आएलगत्तै यस्तो निर्देशन दिइएको हो । मन्त्रालय स्रोतका अनुसार मन्त्रालयको उक्त निर्णयसँगै सरुवा, बढुवा र समायोजनका लागि दौडधूपमा रहेका कर्मचारीहरु मारमा परेका छन् । मन्त्रालयले तत्काल कर्मचारीको विवरण अद्यावधि गर्नका लागि सरुवा–बढुवा, समायोजन, संशोधन लगायतका कार्य स्थगित गरिएको बताएको छ । यसैबीच, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले १९ जना सहसचिवको दरबन्दी थप गरेको छ ।

मन्त्रालयको गत हप्ता बसेको बैठकले गृहमन्त्रालयमातहतमा रहने गरी उक्त दरबन्दी थप गरिएको हो । केही पहाडी जिल्लाहरुमा उपसचिव प्रमुख जिल्ला अधिकारी रहँदै आएकोमा गृहको प्रस्तावमा सामान्य प्रशासन मन्त्रालयले ती १९ जिल्लामा सहसचिव प्रमुख जिल्ला अधिकारी रहने व्यवस्थाका लागि सहसचिवको दरबन्दी थप गरिएको बताइन्छ । सरकारको यो निर्णयसँगै कायम रहेका सहसचिवमा १९ जना थप भएपछि लोकसेवा आयोगले बढुवा वा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने छ ।

यसैबीच, मन्त्रालयका सचिव यादव कोइरालाले बुधबार प्रकाशित गरेको विज्ञप्तिले लोकसेवाको तयारी गरिरहेका कर्मचारीहरुमा तरंग उत्पन्न गराएको छ । सचिव कोइरालाले बिदा लिएर लोकसेवाको तयारी गर्न, बिदा नलिई लोकसेवाको तयारी गरिरहेका कर्मचारीको विवरण तत्काल सामान्य प्रशासन मन्त्रालयमा पठाउन परिपत्र जारी गरेका छन् । शाखाअधिकृतदेखि सहसचिवसम्म लोकसेवाको तयारीमा थुप्रै संख्यामा कर्मचारी रहेका कारण विभागीय मन्त्रालय र कार्यालयहरुको कार्यसम्पादनमा गम्भीर असर पुग्न गएको गुनासो पुगेपछि सामान्य प्रशासनले यस्तो परिपत्र जारी गरेको हो ।

सम्बन्धित समाचार