काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले करिब आठ वर्षपछि कार्यकारी नेतृत्व परिवर्तन गरेको छ। दुई कार्यकाल पूरा गरी सुयोग श्रेष्ठ प्रमुख कार्यकारी अधिकृतबाट बाहिरिएको भोलिपल्टै बैंकले अनुभवी बैंकर तथा चार्टर्ड एकाउन्टेन्ट रविन सिजापतिलाई नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो।
बैंक सञ्चालक समितिले सिजापतिलाई चार वर्षका लागि सीईओ नियुक्त गरेको छ। लामो समय वाणिज्य बैंकको उच्च व्यवस्थापनमा काम गरेका सिजापतिले पहिलोपटक विकास बैंकको कार्यकारी नेतृत्व सम्हाल्न लागेका हुन्।

सिजापतिको नियुक्तिलाई सामान्य नेतृत्व हस्तान्तरणभन्दा पनि बैंकिङ, नियमन, आन्तरिक नियन्त्रण, कर्जा व्यवस्थापन र जोखिम न्यूनीकरणमा लामो अनुभव भएको व्यक्तिलाई नेतृत्वमा ल्याउने निर्णयका रूपमा हेरिएको छ।
सिजापति सन् १९९८ मा चार्टर्ड एकाउन्टेन्सी पूरा गरेका हुन्। उनको बैंकिङ करिअरको महत्वपूर्ण सुरुवात नेपाल राष्ट्र बैंकबाट भएको थियो। उनले केन्द्रीय बैंकमा ६ वर्षभन्दा बढी समय उपनिर्देशकका रूपमा काम गरेका थिए।
राष्ट्र बैंकपछि उनी तत्कालीन नेपाल इन्भेष्टमेन्ट बैंकमा आन्तरिक लेखापरीक्षण विभाग प्रमुखका रूपमा प्रवेश गरेका थिए। त्यसपछि शाखा तथा क्षेत्रीय व्यवस्थापन, सञ्चालन, आन्तरिक नियन्त्रण र कर्जा व्यवस्थापनलगायत क्षेत्रमा विभिन्न नेतृत्वदायी जिम्मेवारी सम्हाले।
नेपाल इन्भेष्टमेन्ट बैंकमा क्षेत्रीय शाखा प्रबन्धक, सहायक महाप्रबन्धक हुँदै नायब महाप्रबन्धकसम्म पुगेका सिजापति बैंकको ३४औँ वार्षिक प्रतिवेदनमा ‘डेपुटी जनरल म्यानेजर–एक्जिक्युटिभ क्रेडिट अफिसर’ का रूपमा उल्लेख छन्।
कर्जा विश्लेषण, कर्जा स्वीकृति, पोर्टफोलियो व्यवस्थापन तथा जोखिम नियन्त्रणमा उनको लामो अनुभव रहेको देखिन्छ। नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको मर्जरपछि बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा उनी वरिष्ठ नायब महाप्रबन्धकका रूपमा कार्यरत थिए।
आर्थिक वर्ष २०७९/८० र २०८०/८१ का वार्षिक प्रतिवेदनमा सिजापति प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतपछिको वरिष्ठ व्यवस्थापन तहमा रहेको देखिन्छ। उनले २०८३ असार मसान्तबाट लागू हुने गरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छाडेका थिए।
यसअघि उनी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रतिनिधित्व गर्दै नेशनल लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षसमेत रहेका थिए। यसले उनलाई वाणिज्य बैंकसँगै लघुवित्त क्षेत्रको संस्थागत सुशासन र सञ्चालकीय अभ्यासको समेत अनुभव दिएको छ।
सिजापतिले नेतृत्व सम्हाल्दा सांग्रिला डेभलपमेन्ट बैंक व्यवसाय र नाफाका हिसाबले विस्तार भएको अवस्थामा छ। तर कर्जाको गुणस्तरमा देखिएको दबाब नयाँ नेतृत्वका लागि प्रमुख चुनौती बनेको छ।
सुयोग श्रेष्ठले २०७५ भदौ १८ गते बैंकको सीईओको जिम्मेवारी सम्हालेका थिए। पहिलो कार्यकाल पूरा गरेपछि सञ्चालक समितिले २०७९ सालमा उनलाई थप चार वर्षका लागि पुनः नियुक्त गरेको थियो। दुई कार्यकाल पूरा गरी उनी २०८३ भदौ १८ गते बैंकबाट बाहिरिएका हुन्।
श्रेष्ठको आठ वर्षे नेतृत्वमा बैंकको कुल सम्पत्ति करिब २१ अर्ब ४९ करोड रुपैयाँबाट बढेर ६६ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। निक्षेपसमेत १७ अर्ब ७९ करोडबाट बढेर करिब ५६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ।
आर्थिक वर्ष २०८२/८३ मा बैंकले ८८ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा यो ४६.६९ प्रतिशतको वृद्धि हो। बैंकले शेयरधनीलाई १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसमेत गरेको छ।
तर बैंकको निष्क्रिय कर्जा भने बढेको छ। निष्क्रिय कर्जा अनुपात एक वर्षमा ५.५२ प्रतिशतबाट बढेर ६.८७ प्रतिशत पुगेको छ। श्रेष्ठले नेतृत्व सम्हाल्दा यस्तो अनुपात करिब १.६२ प्रतिशत थियो।
नयाँ सीईओ सिजापतिका लागि श्रेष्ठको कार्यकालमा विस्तार भएको बैंकको व्यवसायलाई जोगाउँदै कर्जाको गुणस्तर सुधार गर्नु मुख्य चुनौती हुनेछ।
विशेषगरी बढ्दो निष्क्रिय कर्जा नियन्त्रण, कर्जा असुलीमा सुधार, जोखिमअनुसार नयाँ कर्जा विस्तार र नाफालाई दिगो बनाउनु उनका प्रमुख प्राथमिकता बन्ने देखिन्छ।
वाणिज्य बैंकको उच्च व्यवस्थापनमा रहँदा कर्जा तथा जोखिम व्यवस्थापनमा काम गरेको अनुभव सिजापतिका लागि सांग्रिलामा उपयोगी हुन सक्नेछ। विकास बैंकहरूमा बढ्दो खराब कर्जा र कर्जा असुलीको दबाबका बीच उनले बैंकको कर्जा पोर्टफोलियो कति प्रभावकारी रूपमा सुधार गर्छन् भन्नेमा बजारको चासो रहनेछ।
त्यससँगै डिजिटल बैंकिङ सेवा विस्तार, सञ्चालन दक्षता, संस्थागत सुशासन र प्रतिस्पर्धी व्यवसाय विस्तारमा बैंकलाई अघि बढाउने जिम्मेवारी पनि नयाँ नेतृत्वमाथि आएको छ।
करिब आठ वर्षको नेतृत्वपछि सुयोग श्रेष्ठले छाडेको सांग्रिलालाई अब सिजापतिले कर्जा गुणस्तर, जोखिम व्यवस्थापन र दिगो नाफाको आधारमा नयाँ उचाइ दिन सक्छन् कि सक्दैनन् भन्ने नै उनको चार वर्षे कार्यकालको मुख्य परीक्षा बन्नेछ।