काठमाडौं । वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा गोविन्द केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएको बेथितिविरुद्ध पुनः आमरण अनसन (सत्याग्रह) सुरु गर्ने चेतावनी दिएका छन्। उनले आफ्ना तीनबुँदे माग साउन ५ गतेभित्र पूरा नभए स्थगित गरिएको सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम पुनः सुरु गर्ने घोषणा गरेका हुन्।
शुक्रबार जारी प्रेस विज्ञप्तिमार्फत डा. केसीले सरकारले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रलाई सार्वजनिक सेवाको रूपमा विकास गर्नुको सट्टा निजी मेडिकल व्यवसायी र स्वार्थ समूहको प्रभावमा निर्णय गरिरहेको आरोप लगाए।
यसअघि उनले असार २५ गतेसम्म चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष नियुक्त नगरे आमरण अनसन बस्ने चेतावनी दिएका थिए। सरकारले असार २४ गते आयोगमा उपाध्यक्ष नियुक्त गरेपछि उनले अनसन स्थगित गरेका थिए।
विज्ञप्तिमा उनले स्वास्थ्य सेवा र चिकित्सा शिक्षा नाफामुखी नभई गैरनाफामूलक र सार्वजनिक हितमा आधारित हुनुपर्ने उल्लेख गरेका छन्। अमेरिका जस्ता विकसित मुलुकमा समेत स्वास्थ्य तथा चिकित्सा शिक्षा सरकारी वा गैरनाफामूलक संस्थामार्फत सञ्चालन हुने उदाहरण दिँदै उनले नेपालमा भने न्यूनतम मापदण्ड पूरा नगरेका निजी मेडिकल, डेन्टल तथा नर्सिङ कलेजहरू बढ्दै गएको बताएका छन्।
उनले चिकित्सा शिक्षा नियमन गर्ने निकाय र विश्वविद्यालयहरूमा स्वार्थ समूहसँग जोडिएका व्यक्तिहरूको नियुक्तिले समग्र स्वास्थ्य प्रणालीमा दीर्घकालीन नकारात्मक असर पार्ने दाबी गरेका छन्।
डा. केसीले साउन ५ गतेभित्र माग सम्बोधन नभए आन्दोलनमा जान बाध्य हुने चेतावनी दिँदै त्यसबाट सिर्जना हुने परिस्थितिको जिम्मेवारी सरकारकै हुने बताएका छन्।
उनका मुख्य मागहरू यस्ता छन्–