free website hit counter

साढे दुई करोड बीमा रकमका लागि बिहे गरेर हत्या

beemaadmin
२०८० आश्विन २५, बिहीबार

काठमाडौं । बिमा रकम हात पार्न नक्कली बिहे गरेर हत्या गरेको घटनामा संलग्नविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार ६ जनाविरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको हो । पैसाका लागि कानुनी रूपमा श्रीमती बनेकी सपना मल्लसहित सञ्जीव अर्याल, छविकुमारी खत्री, दीपक केसी, सरदार अहमद खाँ र टोपबहादुर क्षेत्रीविरुद्ध मुद्दा दायर भएको हो । गत वर्ष साउनमा उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मुद्दा दायर गरेको थियो । सपनाविरुद्ध दुई करोड ५० लाख, सञ्जीवलाई ८० लाख ३६ हजार, छविकुमारीलाई १७ लाख ४६ हजार, दीपकविरुद्ध ६० लाख बिगो कायम गरिएको छ । त्यस्तै, अहमद खाँविरुद्ध २० लाख बिगो कायम गरी विभागले मुद्दा दायर गरेको हो । सञ्जीव नेतृत्वको गिरोहले सपनाको बाँके कोहलपुरका सर्जन विकसँग कानुनी रूपमा बिहे गराई दुर्घटना भएको देखाएर उनको हत्या गरी बिमा रकम निकाली बाँडेर लिएका थिए । पछि नेपाल पुनर्बिमा कम्पनीले शंका लागेर प्रहरीमा उजुरी दिएपछि यो घटना बाहिर आएको हो । ठूलो रकमको बिमा गरेलगत्तै शंकास्पद मृत्यु भएकाले पुनर्बिमाका कर्मचारीले शंका गरेर प्रश्न उठाएपछि अनुसन्धान सुरु भएको थियो ।
कुनै पनि बिमा कम्पनीले बिमाको जोखिम वहनका लागि पुनर्बिमा गरेको हुन्छ । यसको पुनर्बिमा नेपाल रिलायन्स लाइफ इन्स्योरेन्सले नेपाल पुनर्बिमा कम्पनीमा गरेको थियो । पुनर्बिमाले पनि छानबिन विस्तृत अध्ययन गरेर मात्र दाबी भुक्तानी दिन्छ । एक सामान्य मजदुरको साढे दुई करोड रुपैयाँको बिमा हुनु, बिमा गरेको चार दिनपछि विवाह दर्ता हुनु र त्यसको एक महिनामै उनको शंकास्पद मृत्यु हुनुले घटना सुनियोजित हुन सक्ने भएकाले शंकास्पद बनेको थियो । सोही आधारमा पुनर्बिमाले रिलायन्स लाइफ इन्स्योरेन्सलाई यसबारे जानकारी गराएपछि सो कम्पनीका उच्च अधिकारीले अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरेका थिए । अनुसन्धानमा बिमाकै लागि हत्या भएको पुष्टि भएको थियो । २ वैशाख ०७८ राति ११ बजे बसको ठक्करबाट घाइते बनाइएपछि सर्जनको किचेर हत्या भएको थियो । बाँकेको बैजनाथ गाउँपालिका– ६ लालपुरस्थित भित्री सडकमा टोपबहादुर क्षेत्रीले चलाएको भे।१ख २४९१ नम्बरको मिनी बसको ठक्करबाट भे।१०प १७२७ नम्बरको मोटरसाइकलमा सवार सर्जनलाई ठक्कर दिएको थियो । घटनाको दिन सर्जनलाई सञ्जीवले बियर खुवाएका थिए । नशा लागेपछि खोलामा बालुवा लोड गर्ने भन्दै योजनाकार सञ्जीव र सर्जन फरक–फरक मोटरसाइकलमा त्यतातर्फ गए ।
केही अघि बढेपछि सञ्जीवले तीव्र गतिमा आफ्नो मोटरसाइकल अघि बढाए, सर्जन बिस्तारै अघि बढे । बाटोमा एउटा बस रोकेर राखिएको थियो । सर्जनको मोटरसाइकल देख्नेबित्तिकै पूर्वयोजनाअनुसार बसले उनलाई पछ्याएर ठक्कर दिएको थियो । ठक्कर दिँदा मृत्यु हुने पक्का नभएपछि उनलाई पछि तानेर टायरले किचेर हत्या गरिएको प्रहरी अनुसन्धानमा खुलेको छ । घटनापछि गाडीचालक टोपबहादुर भागेका थिए । प्रहरीले त्यसवेला घटनाको विस्तृत अनुसन्धान गरेन । घटनास्थलमा शंका गर्ने प्रशस्त ठाउँ थिए । बैजनाथ गाउँपालिका– ६ लालपुरको भित्री सडकमा रुटको बस नै चल्दैन । राति ११ बजे त्यो सडकखण्डमा किन बस गयो भनेर शंकाको सामान्य दृष्टिले समेत प्रहरीले हेरेको छैन । रातको समयमा सडक सुनसान हुने भएकाले हत्याका लागि सो ठाउँ छानिएको थियो । चालक क्षेत्रीले घर फर्कने क्रममा ६ जना स्थानीयले बस रोकेर त्यता पुर्‍याइदिन आग्रह गरेकाले आफू त्यो सडकमा गएको बयान दिएका छन् । त्यो विषयलाई पुष्टि गर्न प्रहरीले चासो नदिँदा यति ठूलो अपराधका अभियुक्तले उन्मुक्ति पाएका हुन् । हाल अनुसन्धानका क्रममा त्यसरी बसको ठक्करबाट हत्या गराउन चालकलाई नौ लाख रुपैयाँ दिने समझदारी भएको थियो । त्यसमध्ये तीन लाख रुपैयाँ दिएको पुष्टि भइसकेको छ । नक्कली श्रीमती सपनासहित मुख्य योजनाकार सञ्जीव, हत्यामा संलग्न गाडीचालक क्षेत्री, बिमा अभिकर्ता सरदार अहमद खाँ र अन्य दुई सहयोगी दीपक केसी र ललिता सापकोटालाई पक्राउ गरी सिआइबीले मुद्दा दायर गरेको थियो ।

यसरी टुट्यो सपनाको सपना
यसरी नक्कली बिहे गरेबापत सपना मल्ललाई विदेश पठाउने आश्वासन दिइएको थियो । उनी तयार भइन् । ९ साउन बिहानै चार साथीहरूका साथ उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विद्यार्थी भिसामा जापान जाँदै थिइन् । उनको नयाँदिल्लीको ट्रान्जिट थियो । नयाँदिल्लीबाट जापानका लागि उड्न खोज्दा भारतीय अधिकारीहरूले रोकेर नेपाल फर्काइदिएपछि उनको जीवनकै ठूलो खुसी पीडामा परिणत भयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सिआइबीको टोली उनलाई लिन पुग्दा सपनाको सबै सपना टुटिसकेका थिए । पहिले नै सो घटना सबै ‘सेटल’ भइसक्यो भन्ने उनलाई लागेको थियो, तर ढिलोचाँडो अपराध लुक्नेवाला थिएन । उजुरी परेपछि सपनालाई केही दिनदेखि प्रहरीले निगरानीमा राखिरहेको थियो । ९ साउनमा उनी दिल्ली पुगिसकेको खुल्यो । प्रहरीले भारतीय अधिकारीसँग समन्वय गरी पक्राउ गरेको हो । बिमाबापत आएको साढे दुई करोडमध्ये एक करोड सात लाख ६६ हजार सपना र उनको परिवारले लिएका थिए । ८० लाख ३६ हजार सञ्जीव र ६० लाख दीपक केसीले लिएका थिए । त्यसैगरी, सो समूहले अन्य व्यक्तिको पनि बिमा गराएर योजनाबद्ध रूपमा हत्याको योजना बनाएको समेत प्रहरी अनुसन्धानमा खुलेको थियो । यसमा बिमा कम्पनीको पनि कमजोरी देखिएको थियो ।

अभिकर्ताको तालिमपछि जन्मिएको अपराध
घटनाका मुख्य योजनाकार सञ्जीव अर्याल हुन् । उनले मेट लाइफ इन्स्योरेन्सबाट ०६७ मा जीवन बिमा अभिकर्ताको तालिम लिएका थिए । तालिम लिएपछि उनले जीवन बिमाको फाइदाबारे थाहा पाएका थिए । त्यही ज्ञानलाई उनले अपराधमा प्रयोग गरेका हुन् । सुरुमा उनले आरती भन्ने ललिता सापकोटालाई नै त्यसरी सर्जनसँग विवाह दर्ता गराएर आफ्नो योजनामा सहभागी गराउन लागेका थिए । तर, उनको उमेर नपुगेपछि उनको साथी खोज्न लगाए । त्यही क्रममा ललिताले सपना मल्ललाई सञ्जीवसँग भेट गराइदिइन् । सपना र ललिता स्कुलका सहपाठी हुन् । सपना जसरी पनि विदेश जान चाहन्थिन् । सञ्जीवले उनको महत्वाकांक्षा पूरा गरिदिने आश्वासन दिए । डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया पठाइदिने र पैसा पनि दिने भन्दै त्यसरी नक्कली बिहे गरेर बिमा रकम लिने योजना सुनाए । त्यसमा उनी सहमत भएकी थिइन् । सोही योजनाअनुसार दुईजनाले २ चैत ०७७ मा विवाद दर्ता गराएका थिए । कमजोर आर्थिक अवस्था भएका सर्जनलाई पनि उनले त्यसरी विवाह गर्दा आर्थिक फाइदा हुने आश्वासन दिएका थिए । (नयाँ पत्रिकाबाट)

सम्बन्धित समाचार