काठमाडौं । नेपाली महिला राष्ट्रिय टिमकी स्टार फरवार्ड सावित्रा भण्डारी साम्बा फ्रान्स प्रस्थान गरेकी छन्। चार देशीय महिला अन्तर्राष्ट्रिय च्याम्पियनसिप खेलेर साम्बा आज फ्रान्स प्रस्थान गरेकी हुन्। च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाल आएकी साम्बा बिहीबार फ्रान्सको पेरिस प्रस्थान गरेकी हुन्। बुधबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा म्यानमारसँग २–० गोलअन्तरले पराजित हुँदै नेपाल उपविजेतामा सीमित भएको थियो। उनले फाइनलमा पराजित हुँदा दुःख लागे पनि धेरै कुरा सिकिएको बताइन्। मैदानमा फुटबल विकासका लागि केके सुधार गर्नुपर्छ भन्ने जानकारी थप भएको पनि उनले सुनाइन्। खेलपछि बुधबार साँझ खेलाडी र प्रशिक्षकहरूको समूह बसेर कमजोरीबारे छलफल भएको उनले बताइन्। उनले च्याम्पियनसिपमा सुरुका दुई खेलमा आफू लयमा फर्किन नसकेको स्वीकारिन्। छोटो समयमा टिम तयार भएको र टिमसँग घुलमिल हुन नपाउँदा पनि आफूले सोचेअनुसार खेल्न नसकेको उनको भनाइ छ। पाँच महिनामा दोस्रो फाइनल हारियो किन ? भन्ने पत्रकारहरूको प्रश्नमा उनले भनिन्, यस्तो हार कयौँ सिनियर प्लेयरले भोग्नुभयो। त्योभन्दा कयौँ हामीले भोग्यौँ। प्लेयरको प्यासन लेभल पुगेको छैन कि। ग्रुप स्टेजमा खेले जस्तै फाइनलमा खेल्न सकेका छैनौँ। आगामी दिनमा यसलाई सुधार्छौँ। रेनुका नगरकोटे बुधबार सम्पन्न च्याम्पियनसिपको उत्कृष्ट खेलाडी घोषणा हुँदा उनीभन्दा टिमका अन्य सदस्य खुसी भएको साम्बाको भनाइ छ। उहाँ पहिलेदेखि नै उत्कृष्ट हो। उहाँ सबैको रोलमोडल बनिरहनु भएको छ, उनले भनिन्, पहिलेदेखि नै यस्तो अवार्ड डिजर्ब गर्नुहुन्छ। हामी सबै टिम खुसी छौँ उहाँले पाउँदा। उहाँभन्दा बढी हामी खुसी छौँ। साम्बाले मैदानमा पहिलोपटक बावुलाई ल्याएर आफ्नो खेल देखाउन पाउँदा खुसी लागेको बताइन्। फ्रान्सको क्लबबाट व्यवसायिक फुटबल खेल्ने साम्बा अबको १० दिन आफूलाई त्यहाँको वातावरणमा घुलमिल हुन गाह्रो हुने बताउँछिन्।