काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश पारित गर्न २०औँ वार्षिक साधारण सभा बोलाएको छ।
बैंकको साधारण सभा असोज २८ गते बुधबार काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा बिहान ११ बजे बस्नेछ।
सभाले बैंकको हाल कायम चुक्ता पूँजीको ३.८ प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनका लागि ०.२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
त्यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि सभामा पेस हुनेछन्।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १९ गते बुक क्लोज गर्ने जनाएको छ। यसअनुसार असोज १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।