free website hit counter

सिद्धार्थको नाफा १ अर्ब २ करोड

beemaadmin
२०७६ माघ ११, शनिबार

काठमाडौँ । सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म १ अर्ब २ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले पुस मसान्तसम्ममा १२६ अर्ब निक्षेप संकलन गरी ११८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । निक्षेप र कर्जाको यो आकार अघिल्लो वर्षको तुलनामा क्रमशः १२ अर्ब र १४ अर्बले बढी हो । अघिल्लो वर्षको सोही समयमा बैङ्कको निक्षेप करिब १०४ अर्ब र कर्जा ११४ करोड रुपैयाँ थियो ।

पुस मसान्तसम्म बैङ्कको जगेडा कोष ३ अर्ब ८५ करोड रुपैयाँ छ । यो कोष अघिल्लो वर्षको तुलनामा करिब ३६ करोड रुपैयाँले कम हो । यो वर्ष १० प्रतिशत बोनस सेयर जारी गरेको बैंकले आफ्नो चुक्ता पुँजी अघिल्लो वर्षको तुलनामा ९० करोडले बढाएर ९ अर्ब ७८ करोड ७७ लाख पुर्याएको छ ।

सिद्धार्थ बैङ्कले अघिल्लो वर्षको तुलनामा ब्याज आम्दानी र ब्याज खर्च दुवैमा उल्लेख्य वृद्धि गरेको छ । ब्याज आम्दानी ६ अर्ब ८ करोडबाट बढेर ७ अर्ब ५४ करोड पुग्दा ब्याज खर्च ३ अर्ब ७९ करोडबाट ४ अर्ब ७७ करोड रुपैयाँ पुगेको बैङ्कले जनाएको छ । बैङ्कको कर्मचारी खर्च भने अत्यधिक बढेको छ । सो खर्च अघिल्लो वर्ष ७१ करोड ५० लाख रहेकोमा यो वर्ष १ अर्ब ३ करोड ६८ लाख पुगेको हो । अन्य सञ्चालन खर्च करिब १३ करोड बढेर ४४ करोड माथि पुगेको देखिएको छ ।

बैङ्कको पुँजी पर्याप्तता अनुपात १२.८६ प्रतिशत छ । निष्क्रिय कर्जा अनुपातलाई १.६४ प्रतिशतबाट १.५५ प्रतिशतमा झरेको छ । बैङ्कको यो वर्ष कस्ट अफ फन्ड केही घट्दा त्यसको सकारात्मक असर बेसरेटमा देखिएको छ ।

सम्बन्धित समाचार