free website hit counter

सिद्धार्थ बैंकको नाफा ३ अर्ब ५१ करोड

beemaadmin
२०८३ श्रावण १९, मंगलवार

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले समीक्षा अवधिमा नाफा, खुद ब्याज आम्दानी तथा सञ्चालन नाफालगायत प्रमुख वित्तीय सूचकमा सकारात्मक सुधार हासिल गरेको जनाएको छ।

वित्तीय विवरणअनुसार बैंकले गत आर्थिक वर्षको अन्त्यसम्म ३ अर्ब ५१ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा ३ अर्ब ३६ करोड ६५ लाख रुपैयाँ रहेको थियो। यससँगै बैंकको खुद नाफा ४.५४ प्रतिशतले वृद्धि भएको हो।

बैंकको मुख्य आम्दानी स्रोत खुद ब्याज आम्दानी पनि बढेको छ। अघिल्लो वर्ष ८ अर्ब ४३ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी यस वर्ष ९ अर्ब ५ करोड ११ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै, शुल्क तथा कमिसन आम्दानी १ अर्ब ५८ करोड रुपैयाँबाट बढेर १ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ पुगेको छ। सञ्चालन नाफा पनि ४ अर्ब ९७ करोड रुपैयाँबाट बढेर ५ अर्ब १६ करोड २७ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकको नियामकीय व्यवस्था अनुसार आवश्यक समायोजन तथा सञ्चित नाफा समावेश गरेपछि बैंकको वितरणयोग्य नाफा १ अर्ब ७० करोड ५६ लाख ७१ हजार रुपैयाँ पुगेको छ।

यसका आधारमा साधारण शेयरधनीका लागि प्रतिशेयर वितरणयोग्य नाफा ११ रुपैयाँ ५३ पैसा कायम भएको बैंकले जनाएको छ। साथै, क्यापिटल एड्जस्टमेन्ट रिजर्भसमेत समायोजन गर्दा बैंकको प्रतिशेयर वितरणयोग्य क्षमता २६ रुपैयाँ १५ पैसा पुग्ने उल्लेख गरिएको छ।

सम्बन्धित समाचार