काठमाडौं । संस्थागत सामाजिक उत्तदरदायित्वअन्तर्गत सिभिल बैंकले विविध कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो ३८ शाखाहरु मार्फत् एक महिनादेखि आयोजना गरेको रक्तदान कार्यक्रममा जम्मा भएको कुल १ हजार ३ सय ५४ पिन्ट रगत नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेको छ ।
यस्तै बैंकले आफ्ना २८ शाखाहरु मार्फत विभिन्न सरकारी विद्यालयहरुमा अध्ययनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका कक्षा ६ देखि १० सम्मका २८ जना छात्राहरुलाई छात्रवृत्ति पनि प्रदान गरेको छ ।
उता, व्यास नगरपालिकालाई ५० थान र लेखनाथ स्थित त्रिभुवन शान्ति नमुना माध्यमिक विद्यालयलाई पनि ५ थान डस्टविन पनि वितरण गरेको छ भने चन्द्रनिगाहपुर शाखाले सुनौलो नेपाल अभियानलाई धर्मशालाको निर्माणको लागि रु २५ हजारको आर्थिक सहयोग प्रदान गरेको छ । यस्तै असहाय सेवा केन्द्र नेपाललाई दृष्टिविहिनको सहयोगार्थ १०० थान सेतो छडी प्रदान गरेको छ ।
यसैगरी, ईलाम मांईजोगमाई शाखाले आधारभूत विद्यालयका ५० विद्यार्थीलाई स्वेटर प्रदान गरेको छ । बैंकको झापास्थित सुरुङ्गा शाखा मार्फत पुकार डिसएबिलिटि सोसिएल सर्विसलाई वर्षभरीको लागि खाद्यान्न प्रदान गरेको छ । बैंकको विराटनगर शाखाले नारायण प्राथमिक विद्यालयका ५० विद्यार्थीलाई स्कूल ड्रेस प्रदान गरेको छ ।