काठमाडौं । कोरोना संक्रमण फैलिन नदिन सरकारले देश लकडाउन गरेको छ भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानलाई प्रतिबन्ध लगाउँदै सीमाना सील गरेको छ । त्यसका बाबजुद सुदूरपश्चिममा कोरोना संक्रमित भेटिनेक्रम बढेसँगै सरकारले उपचारको राम्रो प्रबन्ध मिलाउन विज्ञसहितको चिकित्सक टोली पठाएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम र उपचार प्रभावकारी बनाउन ३३ जनाको चिकित्सक टोली काठमाडौंबाट धनगढी गएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णय बमोजिम चार्टर्ड जहाजमा चिकित्सक टोली धनगढी आएको हो । यति एयरको एटीआर ७२–५०० जहाबाट चिकित्सक धनगढी पुगेका हुन् । स्वास्थ्य मन्त्रालयले पहिलो पटक यति ठूलो संख्यामा चिकित्सकलाई हवाई यात्राबाट एक क्षेत्रमा पुर्याएको हो ।
काठमाडौंबाट आएको टोलीलाई आवश्यकताको आधारमा विभिन्न जिल्ला खटाइने सामाजिक विकास मन्त्रालयले जनाएको छ । अहिले सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच पुगिसकेको छ । कोरोना सङ्क्रमण बढ्न थालेपछि सरकारले यसको नियन्त्रणको लागि टोली पठाएको हो ।