काठमाडौँ । जीवन बीमा कम्पनीको बीमा दाबी भुक्तानी प्रक्रिया सरल हुँदै गएको छ । आवश्यक प्रक्रिया पूरा भएपछि बीमा दाबी भुक्तानीमा ढिलाई हुने गरेको छैन । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालयले पाख्रीबास नगरपालिका ७ का मृतक बीमित कृष्णबहादुर थापाको बहिनी गंगा थापालाई मृत्युदावी रकम हस्तान्तरण गरेको छ । बीमित थापाले रु १० लाख बीमाङ्कको बीमा लिएको ६ महिना नबित्दै सडक दुर्घटनाको कारण मृत्यु भएको थियो । कम्पनीले बीमाङ्क बापतको रु। १० लाख, दुर्घटना सुविधा बापत रु। १० लाख र बोनस बापत रु ४८,००० थप गरी एकमुष्ठ रु २० लाख ४८ हजार बीमितले इच्छाएको व्यक्ति गंगा थापालाई हस्तान्तरण गरेको हो ।
स्व. बीमितको परिवारलाई सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका बरिष्ठ सहायक महाप्रवन्धक नरोत्तम ढकाल मार्फत कम्पनी सचिव भरत केसी, दावी बिभाग प्रमुख राजु राजचल र दावी बिभागका कर्मचारी तारणी कटुवालको उपस्थितिमा चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।