काठमाडौं । बीमा कम्पनीहरुले महामारीको जोखिम बहन गर्दै कोरोना बीमा गरेबापतको दाबी भुक्तानी धमाधम दिन थालेका छन् । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले कोरोना बीमा गरेका बीमितलाई दाबी भुक्तानी गरेको छ । नारायणी हस्पिटलमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि आइएमई जनरलद्वारा १ लाख बीमा दावी भुक्तानी गरिएको हो । कम्पनीले दाबी रकमको चेक नारायणी अस्पतालको खातामा जम्मा गरिएको जनाएको छ । इन्स्योरेन्सले नारायणी हस्पिटल चितवनमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि बीमा बापतको एक लाख रुपैयाँ दाबी भुक्तानी बीमित नारायणी हस्पिटलको खातामा जम्मा गरेको हो ।
कोरोना बीमा गरेकाहरुले १५ दिनपछिबाट पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएमा बीमा दाबी भुक्तानी पाउने व्यवस्था छ । सोहीअनुसार उक्त बीमा दाबी भुक्तानी गरिएको आइएमई जनरल इन्स्योरेन्सले जनाएको छ । पछिल्लो समयमा सरकारले समेत ५० प्रतिशत अनुदान दिने घोषणा गरे पछि कोरोना बीमालेखप्रति आकर्षण बढेको छ ।