free website hit counter

स्वास्थ्य मन्त्रीको ज्यान केले जोखिममा ?

beemaadmin
२०७६ पुष १८, शुक्रबार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रमा थिति बसाउनका लागि आफू सुरो हुनुको विकल्प नरहेको र यसका लागि आफू तयार रहेको बताएका छन् । नेपाल अबुद रोग निवारण संस्थाको ललितपुरमा शुक्रबार आयोजित २९औं केन्द्रीय सभाको प्रमुख अतिथिको रुपमा बोल्दै मन्त्री ढकालले स्वास्थ्य मन्त्रालयभित्र धेरै समस्याहरु रहेका, ७–८ हजार कर्मचारीको समायोजनको समस्या रहेको, सरकारी अस्पतालहरुमै कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीको सेवा सुविधामा अन्तर रहेको र सुविधा बढी भएको अस्पतालमा सरुवा हुन खोज्ने प्रवृत्ति रहेको धारणा राख्नुभएको थियो ।

उहाँले राज्यले छात्तवृत्तिमा अध्ययन गराएका चिकित्सकहरुलाई आयोग नै बनाएर खोज्नुपर्ने अवस्था रहेकोमा दुखेसो पोख्दै यी सबै समस्याहरुलाई थिति र विधिमा ल्याउन समय लाग्ने धारणा राख्नुभएको थियो । औषधि र उपकरण खरिद बिक्रीमा चलखेल हुने गरेको भन्ने भन्ने जनगुनासो व्याप्त रहेको आफू कानुनको विद्यार्थी भएको र यसअघि कानुन मन्त्रालयमा रहँदा हजार र लाखको मात्रै कुरा सुनेकोमा स्वास्थ्य मन्त्रालयमा आएपछि करोडौं र अरवौंको कुरा सुन्दा ज्यानै जोखिममा ठानेर काम गर्नुपर्ने अवस्था रहेको बताउनुभएका मन्त्री ढकालले आफू पद दुरुपयोग गरेर पैसा कमाउने पक्षमा नरहेको, अनियमितता गर्नेलाई नछाड्ने र अनियमितता गर्नेहरु आफू निकटकै भए पनि सहकार्य नगर्ने घोषणा गर्दै आफू स्वास्थ्य क्षेत्रमा केही गर्नकै लागि आएको हुँदा सबैको साथ सहयोग आवश्यक रहेको बताउनुभएको थियो ।

उहाँले भक्तपुर क्यान्सर अस्पतालको समस्या समाधानका लागि आफू प्रयासरत रहेको बताउनुभएको थियो । पूर्व स्वास्थ्यमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य भक्तपुर क्यान्सर अस्पतालको समस्या समाधानका लागि मन्त्रीले नेतृत्व गर्नुपर्ने र त्यसका लागि आफ्नो तर्फबाट पूर्ण साथ सहयोग रहने बताउनुभएको थियो ।

४४ जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको उक्त सभालाई स्वागत मन्तव्य दिनुहुँदै केन्द्रीय अध्यक्ष लोकेन्द्रबहादुर श्रेष्ठ (ईश्वर)ले भक्तपुर क्यान्सर अस्पतालको समस्या समाधानका लागि मन्त्रीसमक्ष आग्रह गर्दै संस्थाले गरेका गतिविधिका बारेमा प्रकाश पार्नुभएको थियो । त्यस्तै महासचिव विमल होडाले संस्थाको गतिविधिका बारेमा प्रकाश पार्नुभएको थियो । अधिवक्ता एवं उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाले अदालतले समेत पुरानो कार्यसमितिलाई वैद्य भनेको र अस्पताल निर्वाध रुपमा सञ्चालनका लागि सर्वोच्च अदालतको आदेश दिएकोमा कानुनी राज्यको पालना हुन नसकेको आक्रोश व्यक्त गर्नुभएको थियो ।

उहाँले सभासमक्ष अदालतको आदेश कार्यान्वयनका लागि आइतबारबाटै स्वास्थ्य मन्त्रीलाई घेराउ गरेर दबाव सिर्जना गर्न सभासमक्ष आग्रह गर्नुभएको थियो । सो कार्यक्रमा पूर्व निर्देशक डा. प्रकाश न्यौपाने, पूर्व अध्यक्षद्वय जितबहादुर श्रेष्ठ, दीवाकर राजकर्णिकारले सम्बोधन गर्नुभएको थियो । सो कार्यक्रममा ललितपुर जिल्ला शाखाले केन्द्रले ललितपुरमा स्थापना गर्न लागेको हस्पिक सेवा स्थापनाका लागि ११ लाख ११ हजार सहयोग राशि प्रदान गरेको थियो । शुक्रबारबाट शुरु भएको केन्द्रीय सभा शनिबार विशेष कार्यक्रमसहित समापन हुने बताइएको छ ।

सम्बन्धित समाचार