free website hit counter

‘स्वास्थ्य श्री’ प्रिमियम फर्स्ट प्रेस्ड तोरीको तेल बजारमा

beemaadmin
२०८३ आश्विन २२, बिहीबार

काठमाडौं । शुद्धता, प्राकृतिक स्वाद र गुणस्तरलाई प्राथमिकता दिँदै रिलायबल नेपाल एग्रो लिमिटेडले ‘स्वास्थ्य श्री’ ब्रान्डको प्रिमियम फर्स्ट प्रेस्ड तोरीको तेल बजारमा ल्याएको छ।

बीमा, बैंकिङ तथा व्यावसायिक क्षेत्रमा अनुभव भएका व्यक्तिहरूको लगानीमा पब्लिक लिमिटेड कम्पनीका रूपमा स्थापना भएको रिलायबल नेपाल एग्रोले ‘गुणस्तरमा विश्वास, परिवारमा स्वास्थ्य’ भन्ने नारासहित खाद्य उत्पादन बजारमा विस्तार गरिरहेको जनाएको छ।

कम्पनीले चितवनको खैरहनीमा आधुनिक प्रविधिसहितको तेल उत्पादन प्लान्ट स्थापना गरी तोरीको तेललगायत कृषि उपजमा आधारित खाद्य सामग्री उत्पादन गर्दै आएको छ। स्थानीय कृषि उत्पादनको प्रवद्र्धन, कृषकको उत्पादनको सहज बजारीकरण तथा व्यावसायिक कृषिप्रति आकर्षण बढाउने उद्देश्यसहित चितवनलाई उत्पादनको केन्द्र बनाइएको कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार ‘स्वास्थ्य श्री’ तोरीको तेल पहिलो प्रेसिङ एक्स्पेलर प्रक्रियाबाट उत्पादन गरिन्छ। गुणस्तरीय तोरीका दाना प्रयोग गरी पहिलो प्रेसिङबाट निकालिएको तेलमा पिनाबाट पुनः निकालिएको तेल नमिसाइने भएकाले तोरीको प्राकृतिक स्वाद, सुगन्ध र गुण कायम रहने कम्पनीले जनाएको छ।

कम्पनीले तेल उत्पादनमा प्रिजर्भेटिभ तथा रासायनिक पदार्थ प्रयोग नगरिएको दाबी गरेको छ। आधुनिक फिल्ट्रेसन प्रक्रियाबाट तयार गरिने भएकाले दैनिक खाना पकाउन प्रयोग गर्दा नेपाली परिकारको मौलिक स्वाद र सुगन्ध कायम राख्ने उद्देश्य राखिएको कम्पनीको भनाइ छ।

दैनिक खानपानमा प्रयोग हुने तेलको गुणस्तरप्रति उपभोक्ताको चासो बढिरहेका बेला प्राकृतिकता, शुद्धता र गुणस्तरलाई प्राथमिकता दिँदै उत्पादन बजारमा ल्याइएको कम्पनीले जनाएको छ।

‘स्वास्थ्य श्री’ हाल काठमाडौं उपत्यकाका भाटभटेनी, बिग मार्ट, मेट्रो मार्टलगायत स्टोरमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ। त्यस्तै, चितवन, पोखरा, धनगढी, गोरखा, काठमाडौं, भक्तपुर र ललितपुरलगायत विभिन्न स्थानका किराना तथा खाद्यान्न पसलबाट समेत उत्पादन खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

कम्पनीले चितवनमा उत्पादित तोरीको तेललाई देशभर विस्तार गर्दै खैरहनीलाई भरपर्दो तेल उत्पादन केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्यसमेत अघि सारेको जनाएको छ।

सम्बन्धित समाचार