काठमाडौं । नेपालको पहिलो पुनर्बीमा कम्पनी नेपाल रीले हकप्रद शेयर जारी गर्ने तयारी थालेको छ । हकप्रद शेयर जारी गर्ने तयारीस्वरुप कम्पनीले इक्रा नेपालबाट क्रेडिट रेटिङ गराएको छ । इक्रा नेपालका अनुसार नेपाल पूनर्बीमा कम्पनीले शेयर जारीकर्ता कम्पनीको रुपमा इक्रा एनपि आइआर डबल एए माइनस रेटिङ पाएको छ । यस्तो रेटिङले समयमै वित्तीय दायीत्व पुरा गर्न सक्ने उच्च क्षमता रहेको जनाउँछ । इक्रा नेपालका अनुसार यस्तो रेटिङ पाएको संस्थाको ज्यादै न्यून कर्जा जोखिम रहेको हुन्छ ।
१० अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको नेपाल पूनर्बीमा कम्पनीमा सरकारको ४४ प्रतिशत स्वामित्व रहेको छ । त्यसैगरी १७ पूनर्बीमा कम्पनीको २७ प्रतिशत र आठवटा जीवन बीमा कम्पनीको ६ प्रतिशत लगानी रहेको छ । कम्पनीको गत आ।व।मा सोल्भेन्सी २।५ गुणा रहेको छ । स्वदेशी बीमकले कूल पूनर्बीमको २० प्रतिशत व्यवसाय अनिवार्यरुपमा नेपाल पूनर्बीमा कम्पनीमा गर्नुपर्ने प्रावधान रहेकोले व्यवसाय बिस्तार, मुनाफाको दृष्टीकोणले यो नेपाल पूनर्बीमाको लागी बलियो पक्ष हो ।
पछिल्लो तीन वर्षयताको कम्पनीको लगानीमाथिको औसत प्रतिफल ८ प्रतिशत र सम्पत्ति माथिको औसत प्रतिफल ७ प्रतिशत हाराहारीमा रहेको छ । कूल बीमा व्यवसायको ७१ प्रतिशत हिस्सा स्वदेशी बीमकहरुमै निर्भर रहेको हुँदा नेपाल पूनर्बीमाको लागी यो एउटा चुनौती रहेको इक्रा नेपालले उल्लेख गरेको छ । त्यस्तै कूल बीमाशुल्क आम्दानीको १९ प्रतिशत विदेशी बीमक र पूनर्बीमकबाट प्राप्त गरेको छ । विदेशबाट प्राप्त आम्दानीमध्ये अधिकांश वैश्विक पूनर्बीमा कम्पनीको अगुवाईमा भएको ट्रिटी पूनर्बीमामार्फत् भएको आम्दानीको हिस्सा रहेको छ ।