free website hit counter

हिम पर्वत हाइड्रोपावरको आईपीओ कात्तिक ११ गतेदेखि खुल्ने

beemaadmin
२०८३ आश्विन २६, सोमबार

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले कात्तिक ११ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँबराबरको ५९ लाख १५ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको छ। यसमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १६ करोड ९० लाख रुपैयाँबराबरका प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ९० हजार कित्ता सेयर निष्कासन गरिनेछ।

Advertisement
Advertisement

त्यसमध्ये १० लाख १४ हजार कित्ता सेयर दोलखाको बिगु गाउँपालिका–५, ६, ७ र ८ तथा कालिञ्चोक गाउँपालिका–२, ३ र ४ का स्थायी बासिन्दालाई बाँडफाँट गरिनेछ। बाँकी ६ लाख ७६ हजार कित्ता ती दुई गाउँपालिकाका अन्य वडाका स्थायी बासिन्दाका लागि छुट्याइएको छ।

Advertisement
Advertisement

त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ४ करोड २२ लाख ५० हजार रुपैयाँबराबरका ४ लाख २२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिनेछ। यसका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेको हुनुपर्नेछ।

दुवै समूहका लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओमा आवेदन दिने म्याद छिटोमा कात्तिक २५ गते र ढिलोमा मंसिर १० गतेसम्म तोकिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा कात्तिक १६ गते र ढिलोमा कात्तिक २५ गतेसम्म आवेदन दिन सकिनेछ।

आईपीओ निष्कासनका लागि गरिएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।

कम्पनीले २० मेगावाट क्षमताको साँगु खोला जलविद्युत् आयोजना र ५.५ मेगावाट क्षमताको साँगु खोला–१ जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ। २० मेगावाटको आयोजनाको कुल लागत ३ अर्ब ६५ करोड १७ लाख ८७ हजार २५४ रुपैयाँ रहेको छ। यसको प्रतिमेगावाट लागत १८ करोड २५ लाख ८९ हजार ३६३ रुपैयाँ छ। कम्पनीका अनुसार उक्त आयोजनाबाट २०८२ असोज २५ गतेदेखि विद्युत् उत्पादन भइरहेको छ।

त्यस्तै, ५.५ मेगावाटको साँगु खोला–१ आयोजनाको कुल लागत १ अर्ब १५ करोड ४ लाख ५३ हजार ८९ रुपैयाँ रहेको छ। यसको प्रतिमेगावाट लागत २० करोड ९१ लाख ७३ हजार २८९ रुपैयाँ छ। यस आयोजनाबाट २०८२ साउन ८ गतेदेखि विद्युत् उत्पादन भइरहेको कम्पनीले जनाएको छ। दुवै आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्रको अवधि २८ वर्ष बाँकी रहेको छ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले नेपाल इन्भेस्टमेन्ट बैंक, सिन्धु विकास बैंक र प्रभु बैंकको सिंगटी शाखा, लक्ष्मी सनराइज बैंकको सुनखानी एक्सटेन्सन काउन्टर तथा सिटिजन्स बैंकको चरिकोट शाखाबाट आवेदन दिन सक्नेछन्। आवेदन फारामका लागि दुई रुपैयाँ शुल्क लाग्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखाबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। साथै, सीडीएस एन्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइन प्रणालीबाट पनि आवेदन दिन सकिनेछ।

सम्बन्धित समाचार