काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी १० वर्षमा नेपाली पुँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्यसहित ‘पुँजी बजार विकास मार्गचित्र, २०८३’ सार्वजनिक गरेको छ। बोर्डले मंगलबार सार्वजनिक गरेको मार्गचित्रले पुँजी बजारलाई देशको आर्थिक विकासको दोस्रो प्रमुख स्तम्भका रूपमा स्थापित गर्ने दीर्घकालीन रणनीति अघि सारेको हो।
मार्गचित्रअनुसार बैंकमुखी वित्तीय प्रणालीको विकल्पका रूपमा पुँजी बजारलाई विस्तार गर्दै आगामी दशकभित्र यसको संरचनात्मक सुधार, लगानीकर्ताको पहुँच विस्तार तथा बजारको विविधीकरणमा जोड दिइनेछ।
धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्ट का अनुसार सन् २०३६ सम्म दैनिक औसत शेयर कारोबार रकम हालको करिब ८ अर्ब रुपैयाँबाट बढाएर ३० अर्ब रुपैयाँ पुर्याउने लक्ष्य राखिएको छ।
त्यस्तै, कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँगको बजार पुँजीकरणको अनुपात हालको ७०–८० प्रतिशतबाट बढाएर १५० प्रतिशतभन्दा माथि पुर्याउने योजना छ। सूचीकृत कम्पनीको संख्या ५०० नाघ्ने तथा त्यसमध्ये २०० भन्दा बढी साना तथा मझौला कम्पनी रहने लक्ष्य पनि मार्गचित्रमा समेटिएको छ। हाल करिब ७७ लाख ६६ हजार रहेको डिम्याट खाताको संख्या पनि उल्लेख्य रूपमा विस्तार गर्ने लक्ष्य राखिएको छ।
बोर्डले हालको पुँजी बजारमा बैंक तथा वित्तीय संस्था र जलविद्युत् क्षेत्रको अत्यधिक प्रभुत्वलाई प्रमुख चुनौतीका रूपमा औँल्याएको छ। अहिले बजार पुँजीकरणमा बैंक तथा वित्तीय संस्थाको करिब ४५ प्रतिशत र जलविद्युत् कम्पनीहरूको ३५ प्रतिशत हिस्सा रहेको छ। उत्पादन, कृषि, सूचना प्रविधि र सेवा क्षेत्रको न्यून सहभागिताले बजारलाई असन्तुलित बनाएको बोर्डको निष्कर्ष छ।
त्यस्तै, बजार अझै पनि ९५ प्रतिशतभन्दा बढी साधारण शेयरमा निर्भर रहेको उल्लेख गर्दै संस्थागत ऋणपत्र, डेरिभेटिभ्स, कमोडिटी बजार तथा रियल इस्टेट इन्भेस्टमेन्ट ट्रस्ट जस्ता वैकल्पिक वित्तीय उपकरणको विकासमा विशेष जोड दिइने बताइएको छ।
मार्गचित्र कार्यान्वयनका लागि कानुनी सुधार, बजार विविधीकरण, प्रविधि विकास, लगानीकर्ता संरक्षण, संस्थागत सुदृढीकरण, सुशासन र अन्तर्राष्ट्रियकरणलाई मुख्य रणनीतिक आधार बनाइएको छ।
बोर्डले मार्गचित्रलाई तीन चरणमा कार्यान्वयन गर्ने योजना पनि सार्वजनिक गरेको छ।
बोर्डका अनुसार यो मार्गचित्र कार्यान्वयन भएपछि पुँजी बजारको दायरा फराकिलो हुने, लगानीका नयाँ अवसर सिर्जना हुने तथा मुलुकको आर्थिक विकासमा यसको योगदान उल्लेखनीय रूपमा वृद्धि हुने अपेक्षा गरिएको छ।