free website hit counter

२००० विन्दुभन्दा माथि पुग्यो नेप्से

beemaadmin
२०८१ बैशाख १८, मंगलवार

काठमाडौं । पछिल्ला ८ कारोबार दिनदेखि २००० भन्दा मुनि कारोबार भइरहेको नेप्से, यस दिन १.३० प्रतिशत बढेर २००० विन्दुभन्दा माथि बन्द भएको छ। यस दिन नेप्से परिसूचक २५.९३ अंक बढेर २००६.२८ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.५८ अंक बढेको छ भने फ्लोट इण्डेक्स २ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१८ अंक बढेको छ। यस दिन नेप्सेको वृद्धिलाई भोल्यूमले पनि साथ दिएको छ। अघिल्लो कारोबार दिन करिब ३ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२० स्टकको ७५ हजार २७१ पटकको कारोबारमा ४ अर्ब ८० करोड रुपैयाँ बराबरको १ करोड १८ लाख कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक र इन्फिनिटी लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने बोटलर्स नेपाल तराईको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। पछिल्ला दिनहरुमा सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको पोखरा फाइनान्सको शेयरमूल्य भने यस दिन सर्वाधिक ७.१८ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा यस दिन शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन १८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन पोखरा फाइनान्सको १७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने गोर्खाज फाइनान्सको कारोबार रकम १६ करोड नाघेको छ। १३ उपसमूहमध्ये यस दिन वित्त उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ४.९० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, जलविद्युत, लगानी र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक १.१८ प्रतिशत घटेको हो।

सम्बन्धित समाचार