free website hit counter

४२ वर्ष पूरा गर्दै नबिल बैंकको घोषणा : ‘बैंकिङ एन्ड बियोन्ड’मार्फत एआईमा आधारित सेवातर्फ अग्रसर

beemaadmin
२०८३ असार २९, सोमबार

काठमाडौं । नबिल बैंक लिमिटेडले स्थापनाको ४२औँ वर्ष पूरा गरेको अवसरमा परम्परागत बैंकिङको सीमाभन्दा माथि उठ्दै ‘बैंकिङ एन्ड बियोन्ड’ अवधारणाअन्तर्गत कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित वित्तीय सेवा विस्तार गर्ने घोषणा गरेको छ।

वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले विगत ४२ वर्षदेखि नबिल बैंकको सबैभन्दा ठूलो सम्पत्ति ग्राहकको विश्वास रहेको उल्लेख गर्दै यही विश्वास भविष्यको आधार बन्ने बताए।

उनले नेपालमा आधुनिक बैंकिङको सुरुआतदेखि डिजिटल बैंकिङसम्मको यात्रामा नबिलले नेतृत्वदायी भूमिका खेलेको दाबी गर्दै ‘एनबैंक’ एपमार्फत ग्राहकको बैंकिङ अनुभवलाई नयाँ उचाइमा पुर्‍याएको बताए। उनका अनुसार नबिल बैंक अहिले वाणिज्य बैंकिङ, इन्भेस्टमेन्ट बैंकिङ, स्टक ब्रोकरेज, मर्चेन्ट बैंकिङ, क्यापिटल मार्केट तथा डिजिटल बैंकिङसहितको एकीकृत वित्तीय सेवा प्रदान गर्ने नेपालको एकमात्र वित्तीय समूह बनेको छ।

अध्यक्ष चौधरीले अब बैंकिङ क्षेत्र एआईको युगमा प्रवेश गरिसकेको उल्लेख गर्दै आगामी दिनमा ‘एनबैंक’ एपलाई एआई केन्द्रित बनाइने जानकारी दिए। यसबाट कर्जा प्रवाह, जोखिम व्यवस्थापन, ग्राहक अनुभव, वित्तीय समावेशीकरण तथा सुरक्षा प्रणालीलाई थप प्रभावकारी बनाइने उनले बताए।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले सन् १९८४ मा नेपालको पहिलो निजी क्षेत्रको प्रविधिमैत्री बैंकका रूपमा सुरु भएको नबिलको यात्रा आज लाखौँ ग्राहकको विश्वास र हजारौँ कर्मचारीको समर्पणका कारण सफल भएको बताए। उनले बैंकलाई भविष्यका लागि तयार, विश्वासिलो र ग्राहक–केन्द्रित संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।

बैंकले कृषि क्षेत्रमा ५३ अर्ब ३१ करोड, ऊर्जा क्षेत्रमा ५१ अर्ब ६ करोड, लघु, घरेलु, साना तथा मझौला उद्योगमा ४५ अर्ब ९२ करोड तथा पर्यटन क्षेत्रमा ११ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ।

वित्तीय सूचकांकतर्फ पनि बैंकले उल्लेखनीय प्रगति गरेको छ। आर्थिक वर्ष २०४१/४२ मा २ करोड ८० लाख रुपैयाँ नेटवर्थ रहेको बैंकको नेटवर्थ चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिकसम्म ७० अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा खुद नाफा १० लाख रुपैयाँबाट बढेर ६ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ।

त्यस्तै, निक्षेप संकलन १४ करोड ६० लाख रुपैयाँबाट बढेर ५ खर्ब ८८ अर्ब ८५ करोड, कर्जा प्रवाह १३ करोड ३० लाखबाट ४ खर्ब ६४ अर्ब १० करोड तथा कुल सम्पत्ति २६ करोड ९० लाखबाट ७ खर्ब १८ अर्ब ४२ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ।

सेवा सञ्जालतर्फ सुरुआतमा २ शाखा र १४४ कर्मचारीबाट सेवा सुरु गरेको बैंक अहिले देशभर २६४ शाखा, ३१५ एटीएम, १८ एक्सटेन्सन काउन्टर र २,४६९ कर्मचारीमार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

४२औँ वार्षिकोत्सवका अवसरमा बैंकले ४२ दिनसम्म सञ्चालन हुने विशेष ग्राहक–केन्द्रित योजना पनि सार्वजनिक गरेको छ। हेटौँडा र वीरगञ्जमा सडक विस्तारबाट प्रभावित ग्राहकका लागि पुनर्निर्माण घर कर्जा योजना ल्याइएको छ, जसअन्तर्गत आधार दरमा ०.५ प्रतिशत मात्र प्रिमियम थप गरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराइनेछ।

यसैगरी, लकर सेक्युरिटी डिपोजिटमा ४२ प्रतिशत छुट, इलेक्ट्रोनिक पेमेन्ट गेटवे (ईपीजी) को इन्टिग्रेसन शुल्कमा ५० प्रतिशत छुट तथा क्रेडिट कार्ड आवेदन र वार्षिक सदस्यता शुल्कमा विशेष छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ। वार्षिकोत्सवकै दिन डेबिट कार्डका लागि आवेदन दिने ग्राहकले चार वर्षसम्म कार्ड प्रयोग गर्न सक्ने विशेष सुविधा पनि उपलब्ध हुनेछ।

नबिल बैंकले आगामी दिनमा डिजिटल बैंकिङ, दिगो वित्तीय सेवा तथा ग्राहक–केन्द्रित नवप्रवर्तनलाई प्राथमिकतामा राख्दै नेपालको आर्थिक विकासमा थप योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित समाचार