free website hit counter

५० प्रतिशत छूटमा कोरोना बीमा गराउँदै अजोड इन्स्योरेन्स

beemaadmin
२०७७ भाद्र १७, बुधबार

काभ्रे । कोरोना कहर बढिहरेसँगै कोरोना बीमाको आकर्षण देशव्यापी रुपमा बढेको छ । थोरै लगानीमा कोरोना बीमा गर्न सकिने भएका कारण पनि कोरोना बीमाप्रति सर्वसाधारणको आकर्षण बढेको हो । कोरोना सङ्क्रमणको उच्च जोखिम बढिरहेका बेला पाँचखाल नगरपालिकाका पाँच वडाले ५० प्रतिशत छुट गराउँदै स्थानीयवासीको स्वास्थ्य बीमा गरिरहेका छन् । वडाका बासिन्दाको स्वास्थ्य सुरक्षामा चासो राख्दै ती वडाले हाल ‘कोरोना बीमा’का लागि सिफारिस दिन थालेका हुन् । हाल नगरका २, ३, ४, ५ र ९ नम्बर वडाले ५० प्रतिशत प्रिमियम रकममा स्थानीयवासीको बीमा गर्न सोमबारदेखि सिफारिस गर्न थालेका हुन् । कोरोना बीमाका लागि एक लाख रुपैयाँको बिमाङ्क रकम बराबर ६ सय रुपैयाँ प्रिमियम तिर्नुपर्छ तर वडा कार्यालयको सिफारिसमा ५० प्रतिशत छुट अर्थात् ३ सय रुपैयाँ प्रिमियम तिरेपछि स्थानीयवासीको कोरोना बीमा हुने वडा नं ४ का वडाध्यक्ष सुन्दर लामाले बताए ।
“बीमा कम्पनीले नै प्रिमियम रकममा ५० प्रतिशत छुट गरिदिएको हो, यसका लागि वडाले सिफारिस गर्नुपर्ने नियम बनाइएको छ”, लामाले भने । उनका अनुसार वडाका बासिन्दाले कोरोना बीमा गर्न चाहेको बताएपछि वडाले सिफारिस गर्नेछ र वडाको सिफारिस ल्याएका स्थानीयवासीको बीमा कम्पनीले प्रिमियम रकममा ५० प्रतिशत छुटसहित बीमा गर्नेछन् । सोमबार आफ्नो वडाको ११ जनाको सिफारिस गरिएको लामाले बताए । लामाका अनुसार बीमित वडाका बासिन्दामा कोरोना सङ्क्रमण पुष्टि भएपछि एक लाख रुपैयाँ बीमा रकम पाउनेछन् । उनले आफ्नो वडाका १२८ एकल महिलाको पनि कोरोना बीमा गराइदिने योजना बनाएका छन् । “मैले व्यक्तिगत खर्चमा उहाँहरुको बीमा गराउन थालेको छु, एकल महिलाको पहिचान भइसकेको छ, अब बीमा प्रक्रिया थाल्नेछु”, उनले भने । उनले बीमा कम्पनीको ५० प्रतिशत प्रिमियम रकम छुटमै एकल महिलाको समेत बीमा गराइने बताए । स्थानीय रञ्जन लामिछानेले पाँचखालका केही वडाले ५० प्रतिशत छुटमा वडाका बासिन्दाको बीमा गर्न शुरु गरेकोमा खुशी हुँदै सबै नगरका वडाले यो अभियान थाल्नुपर्ने बताए ।
बीमा कम्पनी अजोड इन्स्योरेन्सले हाल पाँचखालका पाँच वडाका बासिन्दाको ५० प्रतिशत प्रिमियम छुटमा कोरोना बीमा गर्न थालेको हो । बीमा कम्पनीको नियमानुसार कोरोना बीमाअन्तर्गत पिसीआर परीक्षणबाट कोरोना सङ्क्रमण पुष्टि भएपछि एक लाख रूपैयाँ बीमा रकम प्रदान गर्ने नियम छ । यसका लागि ६ सय रूपैयाँ प्रिमियम रकम तिर्नुपर्छ । स्वास्थ्यप्रति सचेत गराउँदै वडाका बासिन्दाको स्वास्थ्य सुरक्षाका लागि छुटमा कोरोना बीमा गराउन थालिएको पाँचखाल–२ का वडाध्यक्ष हरि खतिवडाले बताए । “अतिविपन्नलाई यसले निकै राहत पुग्ने अपेक्षा गरेका छौँ”, उनले भने । उनले प्रारम्भिक चरणमा वडाका बासिन्दामा बीमाबारे सचेत गराई बीमाका लागि प्रेरित गरिने बताए । पाँचखाल नगरमा हालसम्म ८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । काभ्रेपलाञ्चोकमा हालसम्म २७५ जनामा कोरोना सङ्क्रमण भएको छ । यसमध्ये एक पुरुष र एक महिलाको मृत्यु भइसकेको कोभिड(१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ । पोष्टका अनुसार हाल सङ्क्रमितमध्ये १०३ उपचारपछि घर फर्किएको र १७० जना अस्पताललगायत विभिन्न स्थानको आइसोलेसनमा उपचाररत छन् ।

सम्बन्धित समाचार