काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणको सक्रियतासँगै बीमा चेतना वृद्धि भई बीमाको पहुँच बढेको छ भने दाबी भुक्तानी पनि तिव्र भएको छ । बीमा दाबी भुक्तानीमा भएको ढिलाईले समग्र बीमा प्रतिनै आशंका उत्पन्न भएपछि प्राधिकरणले बीमा कम्पनीहरुलाई दाबी भुक्तानीमा तिब्रता दिन दिएको दबाबपछि दाबी भुक्तानीले दु्रत मार्ग मातेको हो । प्राधिकरणले दाबी भुक्तानीलाई छिटो छरितो र सहज बनाउन निर्देशन दिएपछि चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा कुल दाबी मध्ये ७१ प्रतिशत दाबी बापतको रकम भुक्तानी भएको तथ्यांक छ । बीमा कम्पनीहरुले सार्वजनिक गरेको तथ्यांक अनुसार जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले कुल दाबी मध्ये ७१।१५ प्रतिशत भुक्तानी गरेका छन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुमा कुल ८१ अर्ब ४९ करोड ५३ लाख रुपैयाँ बराबरको दाबी परेको थियो । त्यसमध्ये दाबी बापत बीमा कम्पनीहरुले ५७ अर्ब ९९ करोड १९ लाख रुपैयाँ भुक्तानी गरेको छ । त्यस अनुसार जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले अझै २८.८५ प्रतिशत अर्थात २३ अर्ब ५० करोड ३४ लाख रुपैयाँ दाबी बापत भुक्तानी गर्न बाँकी देखिएको हो । जीवन बीमा कम्पनीहरुको ४ अर्ब ६२ करोड ५६ लाख रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले १८ अर्ब ८७ करोड ७७ लाख रुपैयाँ गरी सो बराबरको रकम भुक्तानी गर्नुपर्ने देखिएको हो । दाबी भुक्तानीलाई तिव्रता दिन बीमा कम्पनीहरुका दाबी भुक्तानी शाखाका प्रमुख, अण्डरराइटिङ्ग विभागका प्रमुखहरूसँग निरन्तर अन्तरक्रिया तथा छलफल गरेकोले गर्दा भुक्तानी रकम बढ्न पुगेको प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलको भनाई छ । बीमा दाबी भुक्तानीमा कठिनाई भएको गुनासो बढ्दैपछि प्राधिकरणले सहजै दाबी भुक्तानी हुने व्यवस्था मिलाउन थालेको प्राधिकरणका कार्यकारी निर्देशक पौडेलको भनाई छ । उनले बीमा दाबी भुक्तानीलाई सरल एवंम छिटो छरितो बनाउन बीमा कम्पनीहरुलाई निरन्तर निर्देशन दिदै आएको पनि जानकारी गराए ।