free website hit counter

६ वर्षमा ८१ हजारले बढ्यो सुन

beemaadmin
२०८१ बैशाख ८, शनिबार

काठमाडौं । सुनको मूल्य दिनदिनै जसो आफ्नै रेकर्ड ब्रेक गर्दै अघि बढेको छ । नेपाली बजारमा ०७५ सालको बैशाख महिनामा प्रतितोला ५८ हजार रहेको सुनको मूल्य २०८१ को बैशाख महिनाको पहिलो हप्तासम्म आइपुग्दा १ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । ६ वर्षको अन्तरालमा सुनको मूल्य ८१ हजारले वृद्धि भएको देखिन्छ । २०७६ बैशाखमा प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको तथ्यांक छ । २०७९ को बैशाखसम्म आइपुग्दा भने सुनको मूल्यले १ लाखभन्दा पुगिसकेको थियो भने २०८० बैशाख पुग्दा यो सुनको मूल्य १ लाख १० हजार रुपैयाँको हाराहारीमा थियो । २०८१ लागे पछि भने सुनको मूल्य गति झनै बढेको छ र प्रति तोला डेढ लाखभन्दा बढी पुग्ने आँकलन गरिएको छ । सरकारले विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै सुन आयातको कोटा प्रतिदिन २० किलोबाट १० किलोमा ०७८ फागुनबाट घटाएको थियो । अहिले फेरि नेपाल राष्ट्र बैंकले एक दिनमा २० किलोग्रामसम्म सुन आयात गर्न अनुमति दिँदै आएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय रुपमा बढ्दै गएको युक्रेन रसिया युद्ध साम्य हुन नपाउँदै शुरु भएको इरान इजरायल युद्धको प्रभाव सुनको मूल्यमा पर्न गएको बताइन्छ । व्यापारमा अनिश्चितता बढ्दै जाँदा चीन लगायत धेरै देशको केन्द्रीय बैंकले सुनमा आफ्नो होल्डिङ बढाउँदै लगेको छ, केन्द्रीय बैंकहरुले सुनको माग बढाउँदा बजारमा सुनको मूल्यमा समेत वृद्धि भएको बताइन्छ । अमेरिकी र चीनबीच जारी व्यापारमा भइरहेको टकरावले पनि सुनको मूल्य बढ्न सहयोग पुगेको हो । नेपालको सवालमा सुनको मूल्य बढ्ने अर्को कारण भन्सार दर समेत रहेको छ । तथ्यांकअनुसार साउनदेखि फागुनसम्मको आठ महिनामा १६ अर्ब १२ करोडरुपैयाँ बराबरको कुल १९ सय किलोग्राम सुन आयात भएको देखिन्छ । सोही अवधिमा सरकारले २ अर्ब ४१ करोड ८४ लाख रुपैयाँ राजस्व कमाएको छ ।

सम्बन्धित समाचार