काठमाडौं । नेपालको पहिलो पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्नो ९औं बार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालको प्रमुख आतिथ्यता एवम कम्पनीका अध्यक्ष डा रविन्द्र घिमिरेको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो । २०७१ कात्तिक २१ गतेबाट औपचारिक कारोबार सुरु गरेको यस कम्पनीले ८औं वर्ष पुरा गरी ९औं वर्षमा प्रवेश गरेको हो । ९औं वर्षमा प्रवेश गरेको अवसरमा बीमा प्राधिकरणका प्रतिनिधि, बीमक संघका प्रतिनिधि, कम्पनीका कर्मचारी लगाएतको उपस्थितिमा औपाचिरक कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका प्राधिकरणका अध्यक्ष सिलवालले नेपालमा मात्र सिमित नभई विदेशबाट समेट पुनर्बीमा व्यवसाय ल्याउन सुझाव दिएका छन् । नेपालमा पुनर्बीमाको बजार स्थापना गर्न कम्पनीले खेलेको भूमिकाको बारेमा उल्लेख गर्दै थप बजार बृद्धि गर्न उनले जोड दिएका हुन् । साथै बीमाको समेत पुनबीमा गर्ने कम्पनीले दाबी भुक्तानी समयमै दिई गर्व गर्न सक्ने बाटो बनाउन समेत उनले सुझाएका छन् ।
नेपालको बीमा कम्पनीहरु ऋझै डिपेन्डेन्सिबाट मुक्त हुन नसकेको प्राधिकरणका पूर्व अध्यक्ष डा फत्त बहादुर केसीको भनाई छ । उनले कार्यक्रममा मन्तव्य राख्ने क्रममा सो कुरा बताएका हुन् । प्राधिकरणमा अध्यक्षको रुपमा रहदा पुनर्बीमा कम्पनीको स्थापनाका लागि आफूले गरेको संघर्षको बारेमा उल्लेख गर्दै ७६ वर्षअघि सुरु भएपनि नेपालमा बीमा कम्पनी अझै डिपेन्डेन्सीबाट मुक्त हुन नसकेको बताएका हुन् । बीमा कम्पनीहरुले आफ्नो क्षमता बढाउन नसक्ने, आफ्नो बलबुतोमा उभिन नसक्दा र प्रतिस्पर्धामा आएको कम्पनीभन्दा आफू तल पर्छु कि भन्ने फियर साइकोलोजीबाट माथि उठ्न नसक्दा बीमा क्षेत्रमा हुनुपर्ने विकास नभएको डा। केसीको भनाई छ ।
यसैगरी कम्पनीले आफ्नो बार्षिकोत्सवको अवसरमा उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । कम्पनीको व्यवस्थापन, कम्पनीले दिने सेवालाई विश्वासिलो बनाउन सहयोग गरेको भन्दै कम्पनीले सहायक कार्यकारी अधिकृत दामोदर भण्डारी लगाएत ३ जना कर्मचारीलाई सम्मान गरेको हो । यस अवसरमा कम्पनीले पहिलो पटक नेपाल पुनर्बीमा स्मारिका २०७९ समेत सार्वजनिक गरेको छ । कम्पनीका अध्यक्ष डा।रविन्द्र घिमिरेले आउँदो दिनमा पुनर्बीमा व्यवसाय थप जटिल र चुनौतीपूर्ण हुने भन्दै बीमा क्षेत्रमा दक्ष जनशक्तिको उत्पादनमा जोड दिनुपर्ने बताए । यसका लागि आर्थिक एवम प्राविधिक सहयोग गर्न आफू तत्पर रहेको बताए । क्लाइमेट चेन्जका कारण विश्वबजारमा नै पुनर्बीमामा चुनौती आएको उनको भनाई छ । साथै आन्तरिक एवम अन्तराष्ट्रिय बजारमा बढेको प्रतिस्पर्धालाई राइड गर्न सक्ने जनशक्तिको कमी रहेको उनले बताए ।