काठमाडौं। अहिले संसारको आशा विज्ञानमाथि छ । कोरोनामाथि विज्ञानले जित हासिल गर्ला र यो आतंकको अन्त्य होला भनेर सारा विश्वले आशा गरिरहेको छ । कोरोना विरुद्ध भ्याक्सिन बनाउने दौडमा विश्वका विकसित देशहरु दिनरात लागिपरेका छन् । चीन, अमेरिका, बेलायत लगायतका देशका विभिन्न फार्मास्युटिकल कम्पनीका विशेषज्ञहरुले तयार गरेको भ्याक्सिन अहिले परीक्षणको क्रममै छ । अहिलेसम्म ह्युमन ट्रायलमा चीनलाई सबैभन्दा अगाडि मानिँदै आइएको छ । चीनको क्यान्सिनो बायोलोजिक्सले विकास गरेको भ्याक्सिनको तेस्रो र अन्तिम चरणको ट्रायल ४ देशमा गर्ने तयारी भइरहेको छ । चीनको भ्याक्सिनको निर्णायम परीक्षण ४० हजार जना स्वयंसेवकमा गरिने भएको छ र यसको लागि चीनले ब्राजिल, चिली, साउदी अरेबिया र रुससँग छलफल अगाडि बढाएको छ । चीनको भ्याक्सिन सफल हुने अपेक्षा गरिएका बेला रुसले भने चीनलाई पनि पछि पार्दै आफूले भ्याक्सिन विकासमा बाजी मारेको दावी गरेको छ । रुसको प्रतिष्ठित विश्वविद्यालय सेचेनोभ विश्वविद्यालयले आफूले विकास गरेको भ्याक्सिनको मानवमा परीक्षण पनि गरिसकेको र सबै परीक्षण सफल भएको दावी गरेको छ । रुसको सरकारी रेडियो स्पुतनिकले रुको सेचेनोभ विश्वविद्यालय भ्याक्सिन विकासमा सफल रहेको दावी गरेको हो । स्पुतनिक रेडियोलाई उद्धृत गर्दै समाचार एजेन्सी एसिया न्यूज इन्टरनेशनलले प्रकाशित गरेको समाचार अनुसार विश्वविद्यालयले भ्याक्सिनका सबै परीक्षणहरुलाई सफलतापूर्वक सम्पन्न गरेको छ । यदि विश्वविद्यालयको दावी सही भएमा यो कोरोनाभाइरसविरुद्ध सफलतापूर्वक विकसित पहिलो भ्याक्सिन हुनेछ किनकि अन्य देशले विकास गरेका कुनै पनि भ्याक्सिनले अहिलेसम्म क्लिनिकल ट्रायलको चरणमा पूर्ण सफलता पाइसकेका छैनन् ।सबैभन्दा अगाडि रहेको चीनको भ्याक्सिनले २ चरणमा सफलता प्राप्त गरेको भए पनि तेस्रो र निर्णायक चरणको ट्रायल हुन बाँकी नै छ । रुसको इन्स्टिच्युट फर ट्रान्सलेशनल मेडिसिन एण्ड बायोटेक्नोलोजीका निर्देशक वदिम तारासोभले स्पुतनिक रेडियोलाई बताएअनुसार यो भ्याक्सिनको परीक्षण १८ जुनमा सुरु भएको थियो । रुसको गेमली इन्स्टिच्युट अफ इपिडिमियोलोजी एण्ड माइक्रोबायोलोजीले विकास गरेको यो भ्याक्सिनको सेचेनोभ विश्वविद्यालयले सफलतापूर्वक परीक्षण गरेको हो । तारासोभले यो भ्याक्सिनको परीक्षण सफल रहेको र यो विश्वकै पहिलो कोरोनाभाइरस विरुद्धको भ्याक्सिन भएको दावी गरेका छन् । सेचेनोभ विश्वविद्यालयमा इन्स्टिच्युट अफ मेडिकल प्यारासिटोलोजी, ट्रपिकल एण्ड भेक्टर बर्न डिजिजका निर्देशक अलेक्जेण्डर लुकाशेभका अनुसार यो पूरै अध्ययनको उद्देश्य मानव स्वास्थ्यको सुरक्षाको लागि कोभिड १९ को भ्याक्स्नि सफलतापूर्वक तयार गर्नु थियो । लुकाशेभले स्पुतनिक रेडियोसँग कुरा गर्दै सुरक्षाको हिसाबले भ्याक्सिनको सबै पक्षको जाँच गरिसकिएको बताए । उनले मानव जीवनको सुरक्षाको लागि यो भ्याक्सिन छिटै बजारमा सुलभ हुने बताएका छन् । यदि साँच्चै त्यो भ्याक्सिन सफल भयो भने दैनिक हजारौं मानिसले कोरोनाकै कारण मृत्युवरण गर्नु पर्ने थिएन ।