काठमाडौं । कोरोना कहरले थिलथिलो भएको अर्थतन्त्रलाई ब्यूताउने अपेक्षा गरिएको आर्थिक वर्ष २०७७–७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले शुक्रबार यो आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेका हुन् । ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने गरी मौद्रिक नीति तर्जुमा गरिएको बताउँदै बजेटले निर्धारित गरेको ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न वित्तीय उपकरणहरुलाई परिचालन गर्नेगरी मौद्रिक नीति तर्जुमा गरिएको बताएका हुन् । यस्तै मौद्रिक नीतिले मूल्य वृद्धि ७ प्रतिशत भित्र कायम राख्ने लक्ष्य राखेको छ । कोभिड प्रभावित क्षेत्रमा ऋणको पुनरतालिकिकरण गर्ने राहत प्याकेजहरु मौद्रिक नीति मार्फत ल्याएको छ । कोरोनाको असर रहेसम्म बैंकहरुले ऋणीसँग कुनै जरिबाना लिन नपाउने गरी मौद्रिक नीति तर्जुमा गरिएको बताएका छन् ।
मौद्रिक नीतिमार्फत कृषि क्षेत्रमा लगानी गर्नैपर्ने बाध्यकारी व्यवास्थालाई कडाई गरेको छ । बैंकहरुले कुल कर्जाको १५ प्रतिशत लगानी कृषि क्षेत्रमा गर्नुपर्ने छ । यसअघि १० प्रतिशत कर्जा लगानी गर्ने व्यवस्था थियो । फलफूलमा आत्मनिर्भर हुन सहयोग पु(याउने गरी व्यावसायिक रुपमा गरिने आँप, सुन्तला, जुनार, मौसम, किवी, ड्रयागन फ्रुट, कागती, लिचि, एभोकाडो लगायतका फलफूल खेतीको लागि लिएको कर्जामा पहिलो वर्ष ०.२ प्रतिशत र दोस्रो वर्ष ०.६ प्रतिशत मात्र कर्जा नोक्सानी व्यवस्था कायम गरे पुग्ने व्यवस्था मिलाएको छ ।